पोखरा, १८ माघ । त्रिभुवन आर्मी क्लब २३ औँ आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।
पोखरा रङ्गशालामा आज भएको खेलमा आर्मीले चर्च ब्वाइज युनाइटेडलाई २-१ गोलले हराएको हो । निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको ९ मिनेटमा राशबहादुर मगरले गोल गरेर आर्मीलाई फाइनलमा पुर्याएका हुन् ।
यसअघि खेलको ६१ औँ दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । तर खेलको ८५ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए । आर्मीले अब उपाधिका लागि शनिवार थ्री स्टार क्लबसँग खेल्नेछ । जावलाखेललाई १-० ले हराउँदै थ्री स्टार क्लब यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।
प्रतियोगिताको उपाधि विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार रुपैयाँ पुरस्कार पाउने छन् । यसैगरी विभिन्न ५ विधामा उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछन् ।