झापा, १० फागुन । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडमाथि कठिन जित निकाल्दै झापा ११ एफसी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा झापा ११ ले चर्च ब्वाइजलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । झापाले यसअघि पहिलो चरणमा मछिन्द्र एफसीलाई हराएको थियो ।
आज खचाखच दर्शक भएको रंगशालामा पहिलो हाफ १–१ गोलको बराबरीमा टुंगिएको थियो । खेलको १४ औँ मिनेटमा झापाका एरोन थापाले गोल गर्दै टिमलाई अग्रता दिलाए । चर्च ब्वाइजका किपर कृसल मोक्तान अगाडि बढेको अवस्थामा थापाले मैदानको मध्य भागबाट लगेको बललाई जाली चुमाए ।
खेलको ४१ औँ मिनेटमा चर्च ब्वाइजका विक्रम धिमालले गोल गर्दै खेललाई बराबरीमा ल्याए । झापाका प्रदिप बुढाथोकीले चर्चका सुजन डंगोललाई फाउल गरे । त्यसपछि एरिक विष्टको फ्रिकिक प्रहारलाई सदुपयोग गरी धिमालले गोल गरेका थिए ।
खेलको ७९ औँ मिनेटमा झापाका कप्तान पेमा तामाङले टिमका लागि थप एक गोल गरे । चर्चका गोलकिपर मोक्तानले पञ्च गरेको बल किलियर नहुँदा तामाङले टिमलाई २–१ को अवस्थामा ल्याए ।
खेलको प्लेयर अफ द म्याच झापा ११ का पेमा तामाङ भए । उनले नगद २१ हजार र ट्रफी पाए ।
सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आइतबारको तेस्रो क्वार्टर फाइनल खेल न्यु रोड टिम (एनआरटी) र बंगलादेशको काउरन बाजार प्रगति संघबीच हुने गोल्डकपका सचिव तीर्थराज ढकालले जानकारी दिनुभयो ।
गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्ने अध्यक्ष दिपेश ढकालले बताए । प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।