कास्की, २१ पुस । भुटनिज युथ स्पोर्ट्स क्लब आहा रारा गोल्ड पोखरा कपको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालामा विहीबार भएको दोस्रो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई एक-शून्य गोलले हराउँदै पाहुना टोली भुटनिज फाइनल प्रवेश गरेको हो ।
पहिलो हाफको अतिरिक्त समयमा भुटनिज युथ स्पोर्ट्सले गोल गरेको थियो । प्रविन बस्नेतको फ्लिक पासलाई सदुपयोग गर्दै रोजिन प्रजापतिले गरेको गोल नै निर्णायक भयो ।
खेलको ८४ औँ मिनेटमा आशिष चौधरीले रातो कार्ड पाउँदै मैदान छाडेपछि चर्च ब्वाइज दश खेलाडीमा सीमित भएको थियो । २२ औँ आहा रारा पोखरा गोल्ड कपको उपाधिका लागि सङ्कटा क्लब र भुटनिज युथ स्पोर्ट्स क्लबबीच शनिवार प्रतिस्पर्धा हुने छ ।