Logo

चर्च ब्वाइज युनाइटेड झापा गोल्डकपको च्याम्पियन



बिर्तामोड, २८ फागुन । नाइजेरियन स्ट्राइकर अबयोमी ओलुवासेउन फकुन्लेको दुई गोल प्रेरित चर्च ब्वाइज युनाइटेड झापा गोल्डकप फुटबलको नयाँ च्याम्पियन बनेको छ ।

सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीलाई ३-० ले पराजित गरेको हो ।

सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइजको जितमा फकुन्लेले दुई तथा राजेश परियारले एक गोल गरे । चर्च ब्वाइज पहिलो सहभागितामै च्याम्पियन बन्न सफल भएको हो । टोली अपराजित रहँदै च्याम्पियन भयो । च्याम्पियन चर्च ब्वाइजले १३ लाख रुपैयाँ प्राप्त गरेको छ । पहिलो पटक च्याम्पियन बन्ने लक्ष्य राखेको एपिएफ भने उपविजेता बन्दै सात लाखमा चित्त बुझाउन बाध्य भयो ।

खेलको १२औं मिनेटमा फकुन्लेले पहिलो गोल गरे । गोलकिपर एन्जल श्रेष्ठ अगाडि बढको अवस्थामा फकुन्लेले चलाखीपूर्ण रुपमा गोल गर्न सफल भएका हुन् । दोस्रो गोल ७२औं फकुन्लेले नै गरे । मध्यभागबाट बल अगाडि बढाउँदै फकुन्लेले गोलकिपर एन्जललाई बिट गरेर सुन्दर गोल गरेका हुन् ।

तेस्रो गोल ८७औं मिनेटमा भयो । वैकल्पिक खेलाडी राजेश परियारले तेस्रो गोल गरे । विजय भुजेलको स्थानमा मैदान प्रवेश गरेका राजेशले फकुन्लेको सुन्दर पासमा गोल गरेका हुन् ।

पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको विभागीय टोली एपिएफले फाइनलमा भने आशा गरिएअनुसार प्रदर्शन गर्न सकेनन् । दुबै टोली मुख्य प्रशिक्षक बिना मैदानमा उत्रिएका हुन् । चर्च ब्वाइजको टच लाइनमा अध्यक्ष रुवेन राई थिए भने एपिएफको प्राविधिक क्षेत्रमा सुशिल अधिकारी थिए ।

खेलको म्यान अफ द म्याच बिजेता टिम चर्च ब्वाइजका सुरज जिउ ठकुरी भए । उनले नगद ११ हजार रुपैंयाँ पुरस्कार पाए । फागुन १९ गतेदेखि सुरु भएको छैटौं झापा गोल्डकपमा नेपालका ए डिभिजनसहित १० टिमको सहभागिता रहेको थियो ।

विधागत पुरस्कारमा पनि चर्च ब्वाइजको बर्चस्व रह्यो । चर्च ब्वाइजका दीप कार्की उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर चर्च ब्वाइजका सर्ज डिका, उत्कृष्ट फरवार्डसँगै उच्च गोलकर्ताको पुरस्कार अवयोमी फकुन्लेले पाउँदा एपिएफका शरण बस्नेत उत्कृष्ट मिडफिल्डर भए ।

यस्तै, उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका अध्यक्ष रुवेन राई भए । उदियमान खेलाडी झापा ११ का कप्तान पेमा तामाङ भए । उनीहरुले जनही नगद २५ हजार पुरस्कार पाएका छन् ।

गोल्डकपको उत्कृष्ट खेलाडी चर्च ब्वाइजका डिफेण्डर सञ्जित राई भए । उनले एक थान यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरेका थिए ।

विजेता तथा उपविजेता टिम र खेलाडीलाई प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले, एन्फा अध्यक्ष पंकज नेम्वाङ, अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना, गोल्डकपका अध्यक्ष विनोद बस्नेत, पूर्वअध्यक्षहरु जलकुमार गुरुङ, महेन्द्रकुमार गिरीलगायतले नगद, ट्रफी तथा मेडल प्रदान गरेका थिए ।

गोल्ड कप समापनको अवसरमा झापा ११ का पुर्व खेलाडीहरुलाई सम्मान गरिएको थियो । झापाका गोल किपर मिनबहादुर बस्नेत, कुमार गिरी, कर्ण लिम्बु, खमिर गिल्सन कन्दङवा, बिशाल राई, योगेश गुरुङ, सचिन्द्र धिमाललाई झापा खेल रत्न प्रदान गरिएको थियो । उनीहरुले पाएको पुरस्कार डोमालाल राजबंशीको घर निर्माणमा सहयोग गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्