बिर्तामोड, २६ फागुन । आयोजक झापा ११ एफसीलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै चर्च ब्वाइज युनाइटेड झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार बिर्तामोडस्थित डोमालाल राजवंशी खेल मैदानमा निर्धारित ९० र अतिरिक्त १४ मिनेटमा गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज झापा गोल्ड कपमा पहिलोपटक सहभागी हुँदै फाइनलमा प्रवेश गर्न सफल भएको हो । झापा यसअघिका पाँचै संस्करणमा फाइनल पुगेर पनि उपाधिबाट टाढा रहँदै आएको छ ।
पेनाल्टी सुटआउटमा चर्च ब्वाइजको लागि सुरज जिउ ठकुरी, विजय भुजेल, अबयोमी अलुवासेउन फकुन्ले र गोलकिपर तथा कप्तान दीप कार्कीले निर्णायक गोल गर्दै टोलीलाई फाइलनमा पुर्याएका हुन् । चर्च ब्वाइजका सर्ज डिकाको प्रहार झापाको गोलकिपर सुदिप लिम्बूले बचाएका थिए ।
झापाको लागि आदित्य शाक्य, विवेक पौडेल, आशिष चापागाईंले गोल गरे भने प्रदीप बुढाथोकीको प्रहार पोस्टमा लागेर फर्कियो । विदेशी खेलाडी मार्क जुनियर ह्यारिसनको प्रहार गोलकिपर दीप कार्कीले बचाएका हुन् ।
सेमिफाइनल खेलको प्लेयर अफ दि म्याच चर्च ब्वाइजका गोलकिपर दीप कार्की बने । उनले मेडलसहित ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
सोमबार हुने उपाधि भिडन्तमा चर्च ब्वाइजले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीसँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० ले पराजित गरेको थियो । फाइनलमा प्रवेश गरेसँगै दुवै टोलीले कम्तिमा सात लाख पक्का गरेका छन् ।
फागुन १९ बाट सुरु भएको प्रतियोगिताको विजेताले १३ लाख तथा उपविजेताले सात लाख रुपैँया प्राप्त गर्नेछन् । यसैगरी विधागततर्फका खेलाडीले २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।