झापा, २९ फागुन । लिगलिडर चर्च व्वाइज युनाइटेडले ३–० को अवस्थामा कम्ब्याक गर्दै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मच्छिन्द्र विरुद्ध ४–३ को गोल अन्तरको रोमाञ्चक जित निकाल्दै चर्च व्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च व्वाइजले शनिवार हुने फाइनल खेलमा आयोजक काँकरभट्टिा फुटबल ट्रेनिङ सेन्टरसँग उपाधीका लागि प्रतिस्पर्धा गर्नेछ ।
खेलको ३० औँ मिनेटमा मच्छिन्द्रले अग्रता लियो । पेनाल्टी एरियामा क्लियर हुन नसकेको बललाई विदेशी खेलाडी युसुफ मलिकले गोल गरेका हुन् । ४३ औं मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर बनायो । आदित्य शाक्यको क्रस पासमा एन्द्रेस नियाले गोल गरे । त्यसको १ मिनेट बित्न नपाउँदै युसुफ मलिकले मछिन्द्रका लागि अर्को गोल थपे । मैदानको मध्य भागबाट अगाडि बडाएको बललाई उनले सुन्दर गोल गरे पनि मच्छिन्द्रको जितका लागि यो गोल प्रयाप्त बन्न सकेन ।
खेलको पहिलो हाफ सम्म शुन्यको नतिजा रहेको चर्च व्वाइजका लागि खेलको ६१ औँ मिनेट विदेशी खेलाडी अबयोमि फकुन्लेले पहिलो गोल फर्काए । मच्छिन्द्रका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई उनले एकल प्रयासमा गोल गरे । खेलको ६९ औँ मिनेटमा फकुन्लेले व्यक्तिगत दोस्रो गोल गरे । मच्छिन्द्रका डिफेन्सको तालमेल नमिल्दा दोस्रो बार च्यापेर उनले गरेको सटिक प्रहार गोलमा परिणत भएको थियो । खेलको ७८ औँ मिनेटमा रिचार्ड विल्सनले गोल गर्दै स्कोर ३–३ को बराबरी गरे । विदेशी खेलाडी फकुन्लेको क्रस पासमा मच्छिन्द्रका दुई जना डिफेन्डरलाई विट गर्दै गोल गरेका थिए । खेलको ८७ औँ मिनेटमा फकुन्लेले ह्याट्रिक पूरा गरे । मच्छिन्द्रका डिफेन्डर अघि बढेको मौकाको फाइदा लिँदै उनले प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गरे भने आफ्नो टिमलाई फाइनलको यात्रा समेत तय गराए ।
खेलको १५ औँ मिनेटमा चर्च व्वाइजका जय गुरुङको क्रस पासमा विदेशी खेलाडी रिचार्ड विल्सनको हेडर मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले पञ्च गर्दै बचाए । खेलको ५२ औँ मिनेटमा समिर तामाङको प्रहारलाई गोलरक्षकले बचाए । खेलको ९ औँ मिनेटमा मच्छिन्द्रका युसुफ मलिकले फस्टबारमा प्रहार गरेको बल गोलरक्षकले बचाउँदै कर्नर बनाए । खेलको २० औँ मिनेटमा १८ यार्डबाट पाएको फ्रिकिकमा मोहित गुरुङको प्रहारले जाली चुम्न सकेन । खेलको ७२ औँ मिनेटमा विदेशी खेलाडी एन्द्रेस नियाको प्रहार गोलरक्षक टिकेन्द्र थापाले उत्कृष्ट बचाउ गरे ।
खेलको प्लेयर अफ द म्याच ह्याट्रिक गरेका खेलाडी अबयोमी फकुन्ले भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताभरीका प्लेयर अफ द म्याचको पुरस्कार व्यवसायी श्याम प्रसाई (एसपी)ले उपलब्ध गराएका हुन् ।
शनिवार हुने फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउने छन् । उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउने छन् । प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद ११ हजार र ट्रफी पाउने छन् ।