Logo

चलचित्रकर्ममा सक्रिय रङ्ग पत्रकार



काठमाडौँ, ६ साउन । पत्रकारिता हुँदै चलचित्र निर्माण, निर्देशन तथा लेखनमा केही वर्षयता नयाँ पुस्ताका पत्रकारको उपस्थिति बढ्दो छ । पछिल्लो समयमा पत्रकारितासँगै गीत लेख्ने पनि उत्तिकै छन् ।

समीक्षक हुँदै निर्देशक बनेका पत्रकार दीपेन्द्र लामाले आफ्नो पाँचौँ चलचित्र ‘नाङ्गो गाउँ’ प्रदर्शनको तयारी गर्दै छन् । छायाङ्कन सकेर उनी प्राविधिक कार्यमा जुटेका छन् । “नेपालसँगै विदेशमा एकसाथ प्रदर्शन हुने भएकाले त्यही अनुरूप तयारी गरिरहेका छौँ । प्राविधिक काममा केही समय लाग्छ”, निर्देशक लामाले भने । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, कार्म, बुद्धि तामाङलगायतको कलाकारले अभिनय गरेका छन् ।

उनी पत्रकारिता छाडेर अहिले लेखन तथा निर्देशनमै व्यस्त छन् । रङ्ग पत्रकार हुँदै चलचित्र लेखक सुशील पौडेलले ‘प्रसाद’ को दुई शृङ्खला लेखेका छन् । “समय मिल्दा र कार्यशैली मिल्ने टिम हुँदा काम गरिरहेको छु”, लेखक पौडेलले भने । उनी पत्रकारितामा सक्रिय छन् ।

लेखक पौडेल झैँ पत्रकारितासँगै लेखनमा सक्रिय सामिप्यराज तिमल्सेना अझै केही समय निर्देशनमा आउने सोचमा नरहेको बताए । “प्रस्ताव त आइरहेको हुन्छ । तर म पत्रकारितासँगै लेखनमै सक्रिय छु”, लेखक तिमल्सेनाले भने, “अहिलेको समय हामीले सिक्ने हो । चलचित्रमा देखिएको परिवर्तनको निष्कर्ष बुझ्नु जरुरी छ ।”

रङ्ग पत्रकार डब्बु क्षेत्री म्युजिक भिडियो निर्देशन र गीत रचनामा व्यस्त छन् । अहिले चलचित्र निर्देशन गर्ने उनको सोच छैन । ‘फिटकिरी’ बाट लेखन सुरू गरेका पत्रकार यज्ञश एक चलचित्रको कथा लेखिरहेका छन् । यस्तै, ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरिसकेका पत्रकार सुव्रत आचार्य ‘टल्क सो’ को तयारी गरिरहेका गर्दै छन् । चलचित्र निर्देशन केही समय थाँती राख्दै उनको सक्रियता म्युजिक भिडियो निर्देशनमा बढेको छ ।

‘एउटा साथी’ निर्देशन गरेर चलचित्र निर्माणमा सक्रिय लक्ष्मण सुवेदी ‘सतीदेवी’ को छायाङ्कन पश्चातको प्राविधिक कार्यमा व्यस्त छन् ।

 

प्रतिक्रिया दिनुहोस्