काठमाडौँ, ५ चैत । डा लीला न्याइच्याईले चलचित्रलाई आम जनतासम्म पुग्ने बलियो माध्यमको रूपमा व्याख्या गरेका छन् ।
काठमाडौँमा जारी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा शुक्रबार ‘भूराजनीतिमा चलचित्रको भूमिका’ विषयक छलफलमा उनले चलचित्रले भाषामा प्रभाव पार्ने बताए ।
“अहिले बच्चाहरूले कि अङ्ग्रेजी बोल्छन् कि हिन्दी ? नेपाली भाषा बोल्यो भने कम जान्ने र बुझ्ने भन्ने बुझ्न थालिएको छ । म आफ्नो मातृभाषा बोल्छु तर लेख्न गाह्रो छ । मेरा बच्चाहरूलाई बोल्नै गाह्रो छ, यो चलचित्रको प्रभाव हो”, उनले भने ।
चलचित्र निर्देशक प्रकाश सायमी, राजनीतिज्ञ डा लीला न्याईच्याईं र प्रो खड्ग केसीबीच चलचित्रले कसरी आफ्नो प्रभाव समाजवा मानिसमा सजिलै पाइरहेको हुन्छ र यसले राजनीतिक विषयलाई कसरी आम जनतासम्म पु¥याउँछ ? भन्ने विषयमा छलफल भएको थियो ।
निर्देशक सायमीले चलचित्रले समाजमा पार्ने प्रभावको विषयमा चर्चा गरे । उनले भारतको २२औँ राज्यको रुपमा सिक्किम बनेपछि अभिनेता डेनी डेन्जोङ्पामार्फत समाजलाई परिवर्तन गर्न खोजेको बताए ।
“अभिनेता डेन्जोङ्पा झै फेशन र स्टाइल त्यहाँको समाजमा देखियो । विस्तारै सोचमा प्रभाव पारियो”, निर्देशक सायमीले भने, “चलचित्रलाई हरेक देशको सफ्ट पावरको रूपमा लिइन्छ । पुराना हलिउड चलचित्र हेर्नुभयो प्रसस्त उदाहरण पाउनुहुन्छ ।”
उनले नेपालमा भारतीय भाषा सहजै बुझ्नुको कारण चलचित्रको प्रभावलाई नकार्न नसकिने बताए । बोल्सेभिक क्रान्तिपछि रसियामा लेनिनले चलचित्रलाई दिएको महत्वले उनीहरूका सोच र सिद्धान्त सन्देशका रूपमा विश्वभर फिजाउन सफल भएको निर्देशक सायमीले जानकारी दिए ।
प्राध्यापक खड्ग केसीले नेपालमा चलचित्र लगानी र बजार विस्तार गर्न र स्तर माथि उठाउन सरकारले ध्यान दिनुपर्ने बताए । “हामीलाई कुनै देश मन नपर्न सक्छ तर त्यहाँको चलचित्रले आकर्षित गरिरहेको हुन्छ । त्यसैले यसको प्रभावलाई बढाउन अध्ययन पनि आवश्यक छ”, प्राध्यापक केसीले भने, “अध्ययन र लगानीले हाम्रो प्रभाव र मौलिकतालाई अवश्य अगाडि बढाउन सक्नेछ ।”
निर्देशक सायमीले कुनै समय नेपाली कलाकारले पाकिस्तानको चलचित्रमा गरिरहेको कामलाई सम्झिए । उनले भने, “मैले पढेको थिएँ कि बलिउडका ठूलास्टार पाकिस्तान पुग्दा हाम्रो अभिनेता शिव श्रेष्ठको ठूलाठूला पोस्टर देखेर सोध्नुभयो, “यहाँ नेपाली स्टार वन्न सक्छ भने हामी किन सक्दैनौँ ?’ हाम्रो राम्रो बजार गुमाएका छौँ । यसमा सम्बन्धित पक्ष चनाखो हुनै पर्छ । छलफलको सहजीकरण सञ्चारकर्मी योगेश ढकालले गरेका थिए ।