Logo

चाडपर्वमा कालाेबजारी गर्नेलाई कारबाही गर्ने सरकारकाे चेतावनी



काठमाडौँ, १६ असोज । सरकारले चाडपर्वको समयमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि गर्दै बिक्री नगर्न उद्योगी व्यवसायीहरूको ध्यानाकर्षण गराएको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजारमा कृत्रिम अभाव सिर्जना नगर्न र कालोबजारी नगर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरेको हो ।

सरकारले कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ । सरकारले हेलो सरकार, वाणिज्य विभागको पोर्टल वा टोल फ्री नम्बर ११३७ मा कृत्रिम अभाव र कालोबजारीको सूचना दिन पनि आग्रह गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनले भन्नि, ‘चाडपर्वको अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि तथा कालोबजारी गरी बिक्री गर्ने काम नगर्नरनगराउन सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई नेपाल सरकारले ध्यानाकर्षण गराउँछ । अस्वाभाविक मूलयवृद्धि र कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक नाफाखोरी गर्ने र अस्वाभाविक मूल्यवृद्धि गर्ने जो कोहीलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने र त्यसको प्रतिवेदन सर्वसाधारण सबैको जानकारीका लागि सम्बन्धित निकायबाट दैनिक रूपमा सम्प्रेषित गर्न नेपाल सरकार निर्देशन गर्दछ ।’

बैठकले उपभोग्य वस्तुको बिक्रीसँगै सम्बन्धित सार्वजनिक निकायले तत्काल देशभर सुपथ मूल्यका पसल सञ्चालन गर्ने, बजार अनुगमनका लागि स्थापित सम्पूर्ण संयन्त्रलाई थप सक्रिय र क्रियाशील बनाई बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको मन्त्री शर्माले बताइन् ।

प्रतिक्रिया दिनुहोस्