काठमाडौँ, १९ असोज । बझाङका वसन्तराज जोशी दसैँको टिकटका लागि चिन्तित छन् । अनलाइन र प्रत्यक्ष रुपमा सम्पर्क गर्दा टिकट बुकिङ सकिएको जवाफले उनी निराश भएका हुन् । नजिकिएको दसैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कस्लाई पो नहोला र ! तर, दसैँको मुखमा एयरलाइन्सको टिकट पाउन मुस्किल छ ।
केही गन्तव्यको टिकट त महिनादिनअघि नै बुकिङ सकिएको छ । अहिले कतिपय सुगम गन्तव्यको हवाई टिकट पाउन पनि ग्राहकलाई मुस्किल छ । चाडपर्वमा यात्रुले महङ्गो भाडा तिरेर पनि हवाई टिकट पाउन सास्ती छ । गत वर्षको दसैँमा रु १७ हजार छ सय हवाई भाडा तिरेर काठमाडौँदेखि धनगढी हुँदै बझाङ पुगेका जोशीलाई यो वर्ष महङ्गोमै भए पनि टिकट लिएर घर पुग्ने सकस छ ।
“अघिल्लो वर्ष महङ्गो टिकट खरिद गरेर दसैँमा घर गएको थिए, यो पटक त टिकट नै पाउन मुस्किल भइरहेको छ, दसैँको सङ्घारमा अब झन् टिकट पाउन सास्ती हुन्छ”, जोशीले भने । महङ्गो टिकट भए पनि जहाज पाउनै कठिनाइ हुन्छ । दुर्गम रुटमा चल्ने थोरै सङ्ख्याका जहाजको कम उडान हुने हुनाले ‘हब’ विमानस्थलबाट दुर्गम भेगमा जानेलाई थप सास्ती बेहोर्नुपर्ने हुन्छ ।
धनगढीकी निशा पाण्डे यतिखेर दसैँको टिकट जोहोका लागि एयरलाइन्स धाइरहेकी छन् । अनलाइन बुकिङ सकिएको र सम्बन्धित एयरलाइन्सको टिकट काउन्टरमा पनि सिट नपाएर हैरानी खेप्नु परेको पाण्डेले सुनाइन् । खोटाङकी दीपा राई दसैँमा घर जानका लागि हवाई टिकटको खोजीमा रहेकी छन् । “जहाजको टिकट खोजिरहेको छु, अहिलेसम्म पाएको छैन, दसैँमा कसरी घर पुग्ने हो चिन्तित छु”, उनले भन्नि ।
दसैँमा आवतजावत गर्ने महत्वपूर्ण माध्यम भनेको सडक तथा हवाई यातायात नै हो । अझ प्रभावकारी यातायातका रुपमा हवाईसेवालाई लिइन्छ । दसैँ आउन दुई साता बाँकी रहँदा अहिले अधिकांश गन्तव्यको टिकट बुकिङ भइसकेको छ । वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले दसैँका लागि धमाधम बुकिङ भइरहेको जानकारी दिए । अहिले धेरैजसो गन्तव्यको अनलाइन बुकिङ सकिएको उनले बताए ।
सामान्यतया दसैँ आउन एक महिनाअघिदेखि नै हवाई टिकट खुलाइन्छ । अहिले अनलाइनबाट सहज रुपमा टिकट पाइने भएकाले अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ भइसकेको एयरलाइन्सले जनाएका छन् । उनीहरुका अनुसार दसैँलाई लक्षित गरेर अहिले ८० प्रतिशत हाराहारी टिकट बुकिङ भइसकेको छ ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले दसैँका लागि अहिले ८० प्रतिशतसम्म बुकिङ भइसकेको जानकारी दिए । “दसैँलाई लक्षित गरेर केही ‘सेक्टर’ मा ८० प्रतिशत र कतिपय सेक्टरमा ७० प्रतिशत बुकिङ भइसकेको छ”, उनले भने, “अब सहुलियत भाडादरको टिकट पाउन मुस्किल छ, त्यसैले यात्रुले भटाभट टिकट लिनुपर्ने हुन्छ ।”






