Logo

चारवटा जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकृत



काठमाडौँ, ८ भाद्र । लगानी बोर्डले चार वटा जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।

बोर्डका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा शुक्रवार बसेको बैठकले रोल्वालिङ खोला, छुजुङ खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजनाका लागि लगानी स्वीकृत गरेको हो ।

बैठकले तमोर जलाशययुक्त जलविद्युत् परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा अहिलेसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेस गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।

दाङको राजपुर गाउँपालिकामा दुई सय ४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजना अध्ययनका लागि डोल्मा हिमालयन इनर्जीलाई अध्ययन अनुमतिपत्र दिने निर्णय पनि बैठकले गरेको छ ।

बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगङ्गामा दुई सय ५० मेगावाटको सौर्य ऊर्जा विकासका लागि अध्ययनकर्ता रिसेन इनर्जी कम्पनी लिमिटेडबाट पेस भएको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई बोर्डले जानकारीमा लिएको छ ।

बोर्डले माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सम्बन्धमा सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषद्समक्ष प्रस्ताव पेस गर्ने निर्णय गरेको छ ।

यसका साथै बोर्डको बैठकले रासायनिक मल कारखाना स्थापना सम्बन्धमा अध्ययनका लागि मलेसियामा रहेकाे कम्पनीसँग गरिने समझदारीको मस्यौदा स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्