Logo

चालु आर्थिक वर्षको राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य आधारहीन: वाग्ले



काठमाडौँ, १९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य आधारहीन देखिएको बताएका छन् ।

मङ्गलवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा सांसद वाग्लेले चालु आर्थिक वर्षको राजस्व सङ्कलन गर्ने लक्ष्य आधारहीन देखिएको बताएका हुन् ।

उनले संशोधित बजेटमा समेत सरकारले ४० दिनको राजस्व सङ्कलन प्रक्षेपण गर्न नसकेको आरोप लगाए । उनले सरकारले असार १८ गतेसम्म राजस्व आठ खर्ब ६६ अर्ब मात्रै उठे पनि सरकारले नौ खर्ब रुपैयाँ राजस्व उठेको भन्दै गलत तथ्याङ्क दिएको बताएका हुन् ।

उनले भने, ‘असार १८ गतेसम्म सरकारको राजस्व आठ खर्ब ६६ अर्बमात्रै उठेको छ । अर्थ मन्त्रालयले एक महिनाअघि मात्रै बजेटमा ११८० अर्ब उठाउँछु भनेको छ । आर्थिक वर्ष सकिन १२ दिनमात्रै बाँकी छ । औसत राजस्व सङ्कलन तीन अर्ब जतिमात्रै हुन्छ । सरकारले घटाएको संशोधित अनुमानलाई हेर्दा पनि दिनमा २६ अर्ब राजस्व उठाउनुपर्ने हुन्छ । सरकारले ४० दिनको पनि प्रक्षेपण गर्न नसकेको हो कि?कि अर्को १२ दिनमा अर्को चमत्कार हुँदै छ ।’

सांसद वाग्लेले असार १८ गतेसम्म सरकारको अनुदानमा पनि चार अर्ब ८० करोड रुपैयाँमात्रै उठेको बताए । उनले सरकारको लक्ष्य ५५ अर्बबाट एक महिनाअघि मात्रै ३८ अर्ब उठ्ने भने पनि अब बढीमा पाँच अर्ब रुपैयाँ उठ्न सक्ने दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्