रुपन्देही, २० भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अब छिट्टै सबैका घरमा चाहिएजति विद्युत् जडान हुने बताएकी छिन् । उनले अहिले करिब ९५ प्रतिशत जनताका घरमा विद्युत् पुगेको भन्दै दुई वर्षभित्रै सबै घरमा चाहिएजति विद्युत् उपलब्ध गराउने गरी सरकारले काम गरिरहेको बताइन् ।
बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन रुपन्देहीको मैनहियामा आज उद्घाटन गर्दै उर्जामन्त्री भुसालले अब सबैले विद्युतीय उपकरण प्रयोग गर्नुपर्नेमा जोड दिइन् । “यातायात, सिँचाइलगायतका क्षेत्रमा पनि अव विद्युतीय साधनको प्रयोग गर्नु जरुरी छ, विद्युतीय सवारीका लागि सरकारले नै चार्जिङ स्टेशन बनाउनेछ, त्यसैले म सवारी किन्न चाहनेलाई विद्युतीय साधन किन्नका लागि अनुरोध गर्दछु”, उनले भनिन् ।
सबै क्षेत्रमा प्रयोग गरेर बढी भएको बिजुली भारत र बङ्गलादेशमा बिक्री गरिने पनि मन्त्री भुसालको भनाइ छ । “अहिले भारतमा दैनिक चार सय मेगावाट विद्युत् बिक्री भइरहेको छ, बङ्गलादेशसँग पनि ५० मेगावाट बिक्री गर्ने समझदारी बनेको छ”, उनले भनिन् ।
ऊर्जामन्त्री भुसालले विद्युत्को प्रयोगले मात्रै पनि उत्पादनमा ठूलो योगदान पुग्ने बताइन् । सिँचाइका लागि प्रयोग हुने विद्युत् महशुलमा ७५ प्रतिशत कटौती गरिएको र यसबाट किसानलाई राहत हुने उनको भनाइ थियो । बुटवल–लुम्बिनी प्रसारण लाइनबाट अब यस क्षेत्रका उद्योगी व्यवसायीले मागेजति बिजुली पाउने मन्त्री भुसालको भनाइ छ । अन्य आयोजना समयमै पूरा नहुने परिपाटीकाबीच यो आयोजना समयमै सम्पन्न भएको भन्दै मन्त्री भुसालले आयोजनाका अधिकारी र निर्माण व्यवसायीलाई धन्यवाद दिइन् ।







