Logo

चिकित्सकको सुरक्षामा सरकार सचेत छ: प्रधानमन्त्री



काठमाडौँ, १८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको उपचारमा सक्रिय स्वास्थ्यकर्मीको पेसागत सुरक्षा, हित र वृत्तिविकासमा सरकार सचेत र गम्भीर रहेको बताएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको चौँथो दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै उनले बिरामीको उपचारमा क्रियाशील स्वास्थ्यकर्मीमाथि भइरहेका शृङ्खलाबद्ध आक्रमणलाई आफूले गम्भीर रूपमा लिएको बताएका हुन् ।

“यसबारे सरकारले स्वास्थ्यकर्मीसँग संवाद गरी आवश्यक कानुनी प्रबन्ध गर्ने सहमति र सोअनुरूपको गृहकार्य गरिसकेको छ”, उनले भने, “स्वास्थ्यजस्तो अतिसंवेदनशील क्षेत्रमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ छ ।”

प्रधानमन्त्री दाहालले पूर्ण भरोसा र आत्मविश्वासका साथ बिरामीको उपचारमा सक्रिय रहन चिकित्सकलाई आह्वान गरेका थिए । उनले नेपाल सरकार स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्न, उत्पादित जनशक्तिको रोजगारीको सुनिश्चितता, पेसागत हित र आधारभूत स्वास्थ्य सेवाको नागरिक हकप्रति प्रतिवद्ध रहेको स्पष्ट पारेका हुन् ।

हरेक लोकतान्त्रिक देश र प्रणालीमा राज्य नागरिकको वास्तविक अभिभावक र संरक्षक रहेको उल्लेख गर्दै उनले राज्यका सम्पूर्ण अङ्गले नियन्त्रणमुखी नभई प्रवद्र्धनमुखी र सेवामुखी भएर काम गर्न जरूरी रहेको बताए । “राजनीति र जीवन व्यवहार नागरिकको स्वार्थ र हितमा समर्पित गरेर मात्र हामीले लोकतान्त्रिक राज्यको औचित्य पुष्टि गर्न सक्छौँ”, उनले भने, “गरिब, बिपन्न, असहाय एवं उपेक्षित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको अधिकार र अवसरका निम्ति राज्यको जिम्मेवारीमा रहेका सबैले कुशलतापूर्वक आफ्नो भूमिका पूरा गर्नुपर्दछ ।”

प्रधानमन्त्री दाहालले चिकित्सा विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी दक्ष जनशक्ति उत्पादन एवं आम नागरिकलाई सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको स्थापना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्