काठमाडौँ, ८ असोज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले नेपालमा चिकित्सा शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवा विकासमा कलेज अफ फिजिसियन्स एण्ड सर्जन्स पाकिस्तान (सिपिएसपी)ले गरेको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।
कलेज अफ फिजिसियन्स एण्ड सर्जन्स पाकिस्तानको ५५औँ दीक्षान्त समारोहमा मन्त्री खापुङले नेपाली चिकित्सक र सिपिएसपीको सुमधुर सम्बन्ध कायम रहेको बताए ।
उनले भने, “सिपिएसपीले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सेवा प्रदान गरेको छ, जसले गर्दा विदेश जाँदा हुने खर्च र आवासीय खर्चको बचत भएको छ । सिपिएसपीद्वारा प्रशिक्षित धेरै नेपाली चिकित्सकहरूसँग भेट गर्दा उहाँहरू सकारात्मक रहेको र सिपिएसपी फेलोसिप कार्यक्रमको गुणस्तरीय प्रशिक्षण र परीक्षाको सेवाप्रति प्रशिक्षार्थी सन्तुष्ट रहेको पाएको छु ।”
मन्त्री खापुङले विशेषगरी नेपालमा स्नातकोत्तर चिकित्सा शिक्षालयको प्रवद्र्धनका लागि प्रदान गरिएका सेवाप्रति पाकिस्तानका चिकित्सक र शल्य चिकित्सकलाई आभार प्रकट गरेका थिए । नेपालमा स्नातकोत्तर मेडिकल तालिम र शिक्षालाई व्यवस्थित बनाउन स्वास्थ्य मन्त्रालयको जिम्मेवारी थपिएको भन्दै उनले यस क्षेत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।