Logo

चिट्ठा परेको भन्दै ठगी गर्ने गिरोहका तीन जना पक्राउ



उदयपुर, ३१ वैशाख । जिल्ला प्रहरी कार्यालयले विभिन्न ठाउँका सोझासाझा मानिसलाई चिट्ठा पर्‍यो भन्दै रकम असुल गर्ने गिरोहका तीन जना अभियुक्तलाई पक्राउ गरेर ठगी तथा आपराधिक लाभ (एक्सटर्शन) सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ ।

उनीहरूले दुई महिनाभित्र २२ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेका थिए ।

प्रहरीले कार्यालयले पत्रकार भेटघाट गरेर जिल्लाका विभिन्न ठाउँका बासिन्दालाई चिट्ठा परेको नाममा ठगी गर्नेलाई पक्राउ गरेर आइतवार सार्वजनिक गरेको हो ।

चिट्ठा परेको नाममा सम्बन्धित व्यक्तिले करस्वरूप तोकिएबमोजिमको रकम बुझाउनुपर्ने भन्दै पहिला नै रकम असुल गरेर झुक्याउने गरेको गुनासो बढेपछि पटक-पटकको खोजी र अनुसन्धानपछि ती अभियुक्तलाई पक्राउ गरिएको थियो ।

पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका-३ का उज्वल थापामगर, चितवनको रत्ननगर नगरपालिका-२ का सुशील श्रेष्ठ र काठमाडौँ महानगरपालिका-१० बुद्धनगरमा लुकिछिपी बसेका कटारी-३ का विशाल थापामगर रहेका प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्र फुयाँलले बताए । उनीहरूविरुद्ध ठगी सम्बन्धित मुद्दासमेत दर्ता गरिएको छ ।

ती अभियुक्तले खोटाङको खोटेहाङ गाउँपालिका-२ स्थायी घर भई उदयपुरको त्रियुगा नगरपालिका-३ मोतिगडा बस्ने वर्ष २९ का उदय राईलाई २५ लाख भारतीय रुपैयाँ चिट्ठा परेको भन्दै कीर्ते कागजात देखाएर पहिला कर तिर्नुपर्छ खातामा पैसा बुझाउनु भन्दै ३० हजार रुपैयाँ ठगी गरेका थिए ।

यसैगरी अन्य व्यक्तिलाई पनि चिट्ठा परेको भन्दै पटक-पटक गरेर उनीहरूले २२ लाख २० हजार रुपैयाँ ठगी गरेका पाइएको प्रहरीले जनाएको छ ।

ठगी गर्ने गिरोहले भारतीय नागरिक प्रकाश वर्माको नाममा रहेको एक कम्पनीबाट चिट्ठा परेको भनेर जिल्लाका सोझासाझा नागरिकलाई ह्वाटस्एपमार्फत त्यो कम्पनीको छापसमेतको कागजात देखाएर सुरुमै २० हजारदेखि एक लाख रुपैयाँसम्म कर लिएर आफ्ना खातमा रकम सङ्कलन गर्न लगाउने गरेको खुल्न आएको जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्