काठमाडौं, २२ माघ । साहारा चितवन बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १५ जनाविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय चितवनले आज सहकारी ठगी र सङ्गठित अपराधमा १५ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको हो ।
१५ जनामध्ये गितेन्द्रबाबु (जीबी) राईसहित १२ जनालाई सहकारी ठगी र सङ्गठित अपराधको मुद्दा लगाइएको छ भने रविसहित तीन जनालाई ठगीको मात्रै मुद्दा लगाइएको जिल्ला अदालत चितवनका सूचना अधिकृत अमृत विश्वकर्माले जानकारी दिनुभयो ।
यससँगै साहारा सहकारीको रकम अपचलन गरेको आरोपमा ३२ जना विरुद्ध मुद्दा दर्ता भएको छ । यसअघि असोज ८ गते सहकारीका अध्यक्ष जिबी राई सहित १७ जना विरुद्ध मुद्दा दर्ता भएको थियो ।
३२ जनामध्ये रवि लामिछानेसहित १० जनाविरुद्ध सहकारी ठगी र जिबि राईसहित २० जनाविरुद्ध सङ्गठित अपराधमा मुद्दा दर्ता भएको विश्वकर्माले जानकारी बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञान कुमार महतले आज अदालतमा रवी लामिछाने सहित १५ जनाको मुद्दा दर्ता भएको जानकारी दिनुभयो ।
रबी लामिछानेलाई चितवन ल्याउने विषयमा आफूलाई थाहा नभएको महतले बताउनुभयो । ‘आज मुद्दा दर्ता भएको विषयमा उहाँहरू आफै आउनुहुन्छ या के गर्नुहुन्छ त्यो विषयमा प्रहरीलाई जानकारी छैन ।’ उहाँले भन्नुभयो ।