काठमाडौँ, २९ माघ । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आउँदो वैशाख १० गते उपचुनाव हुने भएको छ ।
निर्वाचन आयोगको आइतवार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६८ बमोजिम चितवन-२ मा आउँदो वैशाख १० गते आइतवारका दिन रिक्त रहेको प्रतिनिधि सभा सदस्यको उपचुनाव गर्ने गरी चुनावको मिति तोक्ने निर्णय गरेको छ ।
यसअघि यस क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएको थियो । लामिछानेको पद खारेज भएपछि रिक्त रहेको क्षेत्रमा आयोगले उपचुनावको मिति तोकेको हो ।
नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधि सभाको कार्यकाल छ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो त्यही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने व्यवस्था रहेको छ ।
साथै प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६८ ले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था छ ।