
काठमाडौँ, ३० असार । काठमाडौँको नागार्जुन नगरपालिका वडा नम्बर ८ भीमढुङ्गा असिमुरे कुवामा चितुवाको आक्रमणबाट पाँच जना घाइते भएका छन् ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको वडाध्यक्ष सुरजकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार गएराति १ बजेतिर घरसँगै रहेको कुखुरा पालेको छाप्रोमा चितुवा पसेको थियो ।
यस्तै, चितुवालाई खोरबाट भगाउने क्रममा छिमेकी सुविन भट्टराई पनि घाइते भएका छन् । घाइते पाँचमध्ये तीन जनालाई अस्पताल भर्ना गरिएको छ भने दुई जना डिस्चार्ज भएका छन् ।
७७ वर्षकी हजुरआमा कान्छी भट्टराई र उनका छोराबुहारीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको वडाध्यक्ष पोखरेलले जानकारी दिए । घाइतेको सीतापाइलामा रहेको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।







