तनहुँ, २९ जेठ । चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका-४ टावरमा शनिबार साँझ एक बालिका घाइते भएकी छिन् ।
घाइते हुनेमा आठ वर्षीया रियाना थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइते बालिकाको डुम्रेस्थित मोती मेडिकल कलेजमा उपचार भइरहेको छ । चितुवाको दुई वटा नङ्ग्राले बालिकाको घाँटीमा चिथोरेको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । घाइते बालिकाको अवस्था खतरामुक्त रहेको उनले बताए ।
बुवाआमा बजारबाट घर जाँदै गर्दा आएको देखेर बालिका घरबाहिर निस्किएकी थिइन् । त्यही बेला चितुवाले आक्रमण गरेको र बुवाआमा दौडिएर आउनेबित्तिकै चितुवा भागेको जनाइएको छ ।