बागलुङ, ७ मंसिर । राष्ट्रिय जनमोर्चाले बागलुङबाट पहिलो विजय हासिल गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बागलुङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा जित हासिल गरेका हुन् ।
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन २०७९ को अन्तिम मतपरिणाम अनुसार सत्ता गठबन्धनको समर्थनमा जनमोर्चाका अध्यक्ष केसीले बागलुङ-१ मा नेकपा (एमाले)का उमेदवार सूर्यप्रसाद पाठकलाई हराएका हुन् ।
केसीले २१ हजार ४५१ मत ल्याउँदा एमालेका पाठकले १८ हजार ८२५ मत ल्याएका छन् ।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले नौ हजार १८१ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटाले ९०३ मत ल्याएका हुन् ।







