Logo

चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच सीमामा तनाव घटाउने सहमति



भारत, ८ भाद्र । चीनका राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई देशबीचको विवादास्पद सीमामा अहिलेको तनाव घटाउन सहमत भएका छन् ।

विकासशील राष्ट्रहरूको समूह ‘ब्रिक्स’ शिखर सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका गएका दुई नेताबीच एक्लाएक्लै भएको भेटमा सीमा विवाद घटाउने सहमति भएको बीबीसी हिन्दीले जनाएको छ । भारतीय प्रधानमन्त्रीको अनुरोधमा चिनियाँ राष्ट्रपति सीले भेटावार्ता गरेको चिनियाँ पक्षले जनाएको छ ।

सीमामा उत्पन्न तनावका कारण तीन वर्षदेखि भारत र चीनबीच सम्बन्ध बिग्रिएको छ । दुई शक्ति सम्पन्न देश चीन र भारतबीच हिमाली क्षेत्र रहेको तीन हजार चार सय ४० किलोमिटर लामो सीमामा अस्पष्टता छ । त्यसलाई लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) भनिन्छ ।

दुई नेताबीचको भेटमा एलएसीबाट सैनिकहरू हटाउने सहमति भएको भारतका विदेश सचिव विनयमोहन क्वात्रालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएको छ । चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति निकालेर सीमाबारेमा विस्तृतमा छलफल भएको र यो छलफलले समस्या समाधानमा स्पष्ट भूमिका खेल्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्