रियाद, ११ कात्तिक (एएफपी) । संयुक्त राज्य अमेरिका र साउदी अरबबीच तनावपूर्ण सम्बन्ध भएका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित साउदी भ्रमणको विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राउदी अरबका विदेशमन्त्रीले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको अपेक्षा गरिएको बताएका छन् । विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको राष्ट्रको नेताले तेस्रो कार्यकाल शुरु भएको केही दिनपछि साउदी अरबको भ्रमण गर्ने अपेक्षा गरिएको उनले बताएका छन् ।
साउदी अरब नेतृत्वको ओपेकको पेट्रोलियम पदार्थ उत्पादन कटौती नगर्न वाशिङ्गटनको अनुरोधलाई बेवास्ताले साउदी र अमेरिकाबीच सम्बन्ध चिसिएको छ । ओपेकले मूल्य वुद्धि गर्न तेल उत्पादन कटौती गरेको छ । युक्रन र रुसबीच भएको युद्धले संसारभर महंगी बढेको छ । महंगी नियन्त्रण गर्ने उद्देश्यले अमेरिकाले साउदी अरबलाई तेल उत्पादन कटौती नगर्न अनुरोध गरेको थियो । तर, अमेरिकी अनुरोधलाई बेवास्ता गर्दै ओपेकले तल उत्पादन कटौती गरेको छ । यसले दुई देशबीच सम्बन्ध चिसिएको छ ।
अमेरिका र साउदीबीच सम्बन्ध चिसिएको बेला राष्ट्रपति सीको सम्भावित भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राजकुमार फैसल बिन फरहानले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँगको वार्तापछि प्रमुख तेल निर्यातक र बेइजिङबीचको ‘ऐतिहासिक र ठोस सम्बन्ध’ को प्रशंसा गरे । ‘हाम्रो आजको बैठक महत्वपूर्ण समयमा भएको छ, यो चिनियाँ राष्ट्रपतिको राज्यको अपेक्षित भ्रमणअघि भएको हो’ राजकुमार फैसलले अल अरब टिभी च्यानललाई बताएका छन् ।
साउदी अरब, चीन र अरब देशहरु बीचको शिखर वार्ताका लागि पनि ‘अन्तिम प्रबन्ध’ गरिरहेको, उनले थप जानकारी दिए । गत हप्ता आफ्नो एक दशकको सत्ता विस्तार गरेका सीले सेप्टेम्बरमा कजाकिस्तान र उजबेकिस्तानको भ्रमण गरेका थिए । उनले चीनमा कोरोनाभाइरस महामारीको शुरु भएयता पहिलो पटक सो भ्रमण क्रममा चीन छाडेका थिए ।
भ्रमणका विषयामा औपचारिक जानकारी भने दिइएको छैन । साउदी अरबमा रहेको चिनियाँ दूतावाससँग एएफपीले सीको अपेक्षित भ्रमणको बारेमा जानकारी लिन खोज्दा केही टिप्पणी नगरिएको समाचारमा जनाइएको छ । यसैबीच चीनको विदेश मन्त्रालयले पनि यस विषयमा कुनै जानकारी नभएको जनाएको छ ।







