काठमाडौं, १९ कार्तिक । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतको चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा रहेको त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको हो ।
त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न शुरु गरिएको प्रसारण लाइन निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । उहाँका अनुसार प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएका १११ मेगावाटको रसुवागढी र ४२ दशमलव ५ मेगावाटको साञ्जेनसहित रसुवामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि प्रसारण लाइन पूर्वाधार तयार भएको छ ।
रसुवागढी र साञ्जेन आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा छन् । अत्यन्तै जोखिमयुक्त, भीरैभीर रहेको हिमाली र पहाडी क्षेत्रमा पर्ने लाइन निर्माणमा निरन्तरको प्रयासपछि काम सम्पन्न हुनु ठूलो उपलब्धी रहेको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।
२८ किलोमिटर लामो प्रसारण लाइनका लागि ७६ वटा टावर निर्माण गरिएका छन् । अनुमानित लागत तीन अर्ब ६२ करोड ८९ लाख अमेरिकी डलर रहेको चिलिमे–त्रिशूली आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैकको अनुदान रहेको छ ।
युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैक ९इआइबी०को आयोजनामा सहुलितपूर्ण ऋण रहेको छ । प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४ को पुसमा कार्यान्वयनमा आएको थियो ।