सुर्खेत, २६ चैत । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले पर्यटकका लागि कर्णाली चिसापानी नेपालकै एक आकर्षक गन्तव्य भएको बताएका छन् ।
आज कर्णाली नदीमा ¥याफ्टिङ गर्ने क्रममा पत्रकारलाई प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले कर्णाली चिसापानी पर्यटकहरुका लागि आकर्षणको गन्तव्यका रुपमा रहेको बताएका हुन् ।
“सुदूरपश्चिमका लागि हिँडेका जुनसुकै व्यक्ति चिसापानी पुग्छ । चिसापानी पुल, कर्णालीनदीको ¥याफ्टिङ, रानीजमरा कुलरिया सिँचाइ आयोजनाको मूल नहर निकै रमणीय छन्”, उनले भने, “पर्यटकका लागि चिसापानी एक प्याकेज नै हो । पहाडबाट तराई झर्दा र तराईबाट पहाड चढ्दा पनि कर्णालीको जम्काभेटले थप महत्व दर्साउँछ । जसबाट राम्रो आयआर्जन गर्न सकिने सम्भावनाहरु पनि छन् ।”
उनले कर्णाली चिसापानीलाई राज्यले पर्यटन क्षेत्रको विकास हुने गरी लगानी गर्नुपर्नेमा जोड दिए । कर्णाली नदीमा ¥याफ्टिङपश्चात् राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरिया सिँचाइ आयोजनाको अवलोकन तथा अनुगमन कार्यक्रममा उनले आयोजना निर्माणपश्चात् कैलालीको पूर्वी क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।