Logo

चीनको जनसङ्ख्या अघिल्लो वर्षको भन्दा साढे आठ लाखले घट्यो



चीन, ३ माघ । चीनको जनसङ्ख्या ६० वर्षपछि पहिलोपटक घटेको छ ।

सन् २०२१ को तुलनामा सन् २०२२ मा चीनको जनसङ्ख्या आठ लाख ५० हजारले घटेको चीनको राष्ट्रिय तथ्याङ्क विभागलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यसअघि सन् १९६१ मा पनि चीनको जनसङ्ख्या घटेको थियो ।

सन् २०२२ मा चीनको जन्मदर प्रति एक हजार महिलामा ६ दशमलव ७७ जना रहेको छ । यसअघि सन् २०२१ मा जन्मदर प्रति एक हजार महिलामा ७ दशमलव ५२ जना रहेको थियो । एक सन्तान नीतिका कारण चीनको जनसङ्ख्या वृद्धिद्धर वर्षौँदेखि घटिरहेको छ ।

जनसङ्ख्या घट्दै गएपछि चीन सरकारले सात वर्ष अघि एक सन्तान नीति खारेज गरेको थियो । तर एक सन्तान नीति खारेज गरेको सात वर्षपछि जनसङ्ख्या नकरात्मकतर्फ गएको छ । यस्तै सन् २०२२ मा मृत्युदर पनि अहिलेसम्मकै धेरै भएको छ ।

यसअघि सन् १९७६ मा सबैभन्दा धेरै सात दशमलव ३१ प्रति एक हजार मानिसको मृत्यु भएकोमा गएको वर्ष प्रति एक हजार जनामा सात दशमलव ३७ जनाको मृत्यु भएको छ । सन् २०२२ मा चीनमा जन्मभन्दा मृत्यु धेरै भएको छ ।

प्रतिक्रिया दिनुहोस्