बेइजिङ, ३० कार्तिक । उत्तरी चीनको साङ्सी प्रान्तमा बिहीबार एउटा भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । ५१ जनालाई अस्पताल पुर्याइएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।
लुलियाङ सहरको लिसी जिल्लामा रहेको योङ्ग्जु कोइला कम्पनीको चार तले भवनमा स्थानीय समयअनुसार बिहान ६:५० मा आगलागी भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै सीसीटीभीले जनाएको छ ।
“११ जनाको मृत्यु भएको पुष्टि भएको छ, हताहत हुनेको निश्चित संख्या गणना भइरहेको छ”, सीसीटीभीले भनेको छ, “अहिलेसम्म ६४ जनालाई बाहिर निकालिसकिएको छ, तीमध्ये ५१ जनालाई उपचारका लागि लुलियाङ फर्स्ट पिपुल्स अस्पतालमा पठाइएको छ, उद्धार कार्य जारी छ र कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ ।”







