काठमाडौं, २० पुस । चीनले बनाउन लागेको मेगा तिब्बत बाँध परियोजनाबारे भारतको चासो र चिन्ता व्यक्त गरेको छ । तिब्बतको माथिल्लो भागमा चीनले निर्माण गर्न लागेको विशाल जलविद्युत् बाँध परियोजनालाई लिएर भारतले चीनसँग चिन्तासहित आफ्नो हितको रक्षाका लागि आवश्यक निगरानी र उपायहरू अपनाउने जनाएको छ ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले ब्रह्मपुत्रको तल्लो तटीय राज्यको हितलाई माथिल्लो तटीय क्षेत्रमा हुने गतिविधिले हानी नपुर्याउने विषयको सुनिश्चित गर्न चीनसँग आग्रह गरिएको बताउनुभएको छ ।
आफ्नो हितको रक्षा गर्न निगरानी र आवश्यक उपायहरू निरन्तर जारी राख्ने भन्दै उहाँले तल्लो तटीय देशहरूसँग परामर्शको आवश्यकता रहेको प्रतिक्रिया दिनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर चीनले यसअघि नै आफ्नो मेगा परियोजनाले तल्लो तटीय क्षेत्रमा नकारात्मक प्रभाव नपार्ने साथै तटीय देशहरूसँग आवश्यक सहकार्यलाई कायम राख्ने जनाएको थियो ।
चीनले हालै तिब्बतमा यार्लुङ झाङबो र भारतमा ब्रह्मपुत्र भनेर चिनिने नदीमाथि बन्ने परियोजनाको घोषणा गरेको थियो । यसलाई बेइजिङको कार्बन तटस्थता लक्ष्य र तिब्बत क्षेत्रको आर्थिक लक्ष्यसँग जोडिएको छ ।
तिब्बती पठारको पूर्वी किनारमा रहेको यार्लुङ झाङबो नदीमा बन्ने यो बाँध र जलविद्युत आयोजना संसारकै ठूलो हुने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अहिले पनि संसारकै ठूलो बाँध र जलविद्युत परियोजनाको रुपमा चीनकै थ्री गर्जेज बाँध रहेको छ । यार्लुङ झाङबो नदी तिब्बत छोडेर दक्षिण भारतको अरुणाचल प्रदेश र आसाम हुँदै बङ्गलादेशमा बग्दा ब्रह्मपुत्र नदी बन्छ ।