चीन, २३ साउन । चिनियाँ सेनाले ताइवान नजिकै पनडुब्बी र हवाईजहाज प्रतिरोधी विभिन्न किसिमका अभ्यास जारी राख्ने जनाएको छ ।
चिनियाँ जनमुक्ति सेना (पीएलए) ले अगस्ट ४ देखि ७ सम्म टापु वरपरका ६ ठाउँमा संयुक्त अभ्यास गरिरहेको बताइएको छ ।
अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबाट रिसाएको चीनले यस क्षेत्रमा विभिन्न किसिमका सैन्य अभ्यास गरिरहेको छ । पछिल्लो समय एक सयभन्दा बढी चिनियाँ लडाकु विमान र १० वटा युद्धपोतले ताइवान वरपर लाइभ-फायर सैन्य अभ्यास गरिरहेका छन् ।
योसँगै ताइवान स्ट्रेट वरपर थुप्रै चिनियाँ विमान र जहाज विभिन्न किसिमका युद्धकलाको अभ्यास जस्तो देखिने प्रदर्शनीहरू गरिरहेका छन् । केही विमानले चीन र ताइवानबीचको सीमा रेखाजस्तो प्रतित हुने मध्य रेखा पनि पार गरेका छन् ।