इन्डोनेसिया, २३ असार । पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीन र भारतबीच समाधान गर्न बाँकी मुद्दालाई शीघ्र अघि बढाउनुपर्नेमा भारतले जोड दिएको छ ।
इन्डोनेसियाको बालीमा बिहीवारदेखि सुरु भएको जी-२० का विदेशमन्त्रीको बैठकमा भाग लिने क्रममा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भएको भेटमा भारतका विदेशमन्त्री एस जयशङ्करले कोरोना महामारीका कारण घर फर्किएका आफ्नो देशका विद्यार्थीलाई चीन फर्काउन तथा एलएसीसम्बन्धी बाँकी मुद्दा चाँडो समाधान गर्न आह्वान गरेका हुन् ।
भारतका विदेशमन्त्रीले भारतीय विद्यार्थीलाई चीन फर्काउने प्रक्रिया शीघ्र अघि बढाउन तथा सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने दिशामा बाँकी रहेका कामलाई गति दिनुपर्नेमा जोड दिएका विदेश मन्त्रालयले जनाएको छ ।
विदेशमन्त्री जयशङ्करले द्विपक्षीय सम्झौता र प्रोटोकलको पूर्णपालनाका साथै आफूहरूबीच अघिल्लो भेटवार्तामा भएका समझदारीको पालना महत्त्वपूर्ण हुने बताए ।