
ताप्लेजुङ, ५ मङ्सिर । चीनसँगको तिप्ताला नाका नखुल्दा ताप्लेजुङको हिमाली भेगका किसानको चौँरीपालन व्यवसाय सङकटमा परेको छ । कोरोना महामारीदेखि बन्द भएको नाका नखुल्दा चौँरीपालन व्यवसाय सङकटमा परेको हो । नाका बन्द हुँदा किसानले चीनमा चौँरी निर्यात गर्न पाएका छैनन् ।
जङ्गलको बीचमा वर्षौँदेखि व्यावसायिक चौँरीपालन गरिरहेका मिक्वाखोला गाउँपालिका–५ का ४६ वर्षीय मिलनदोर्जे शेर्पाले पुख्र्यौली पेसा चौँरीपालन गरे पनि नारका बन्द हुँदा सङकटमा परेका बताए । स्खुवासभा र काठमाडौँमा १३ वर्ष होटल सञ्चालन गरेका शेर्पा अहिले चौँरी बिक्री नहुँदा सङकटमा परेका छन् । । उनीसँग तोक्पेगोला क्षेत्रमा दुई सय ५० भन्दा बढी चौँरी छन् । उनले कोरोना महामारी अघिसम्म एउटा चौँरी रु ७० हजारदेखि एक लाख ४० हजारसम्ममा चीनमा निर्यात गर्दथे । कोभिड का कारणले टिप्ताला नाका बन्द भएसँगै चौँरी बिक्री ठप्प भएको छ । चिनियाँ बजारमा राम्रो मूल्यमा चौँरी निर्यात हुने देखेपछि होटल व्यवसाय छाडेर चौँरीपालन लागेका शेर्पा अहिले निराश छन् । उनले भने, “होटल बेचेर यहाँ आइयो । गोठ विस्तार गरे । तर नाका नखुल्दा चौँरी बिक्री हुन छाड्यो ।”
फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका तेन्जिङ शेर्पा ६५ वर्षदेखि चौँरीगाई पाल्दै आएका छन् । उनको समुद्र सतहबाट चार हजार तीन सय मिटर उचाइको मौवाटारमा गोठ छ । छोराछोरीलाई अंशका रूपमा चौँरी बाँडेर पनि उनीसँग अहिले ४० छन् । बाह्र दुहुना छन् । मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रका तेन्जिङनुपु शेर्पा अहिले बिक्री गर्न सकेका छैनन् ।
मौवटारमा चार, सिञ्जेमा पोखरी क्षेत्रमा दुई र याङ्मा क्षेत्रमा नौवटा चौँरीको घुम्तीगोठ छ । मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोला क्षेत्रमा ३५ गोठमध्ये १७ घुम्ती गोठ रहेको मिक्वाखोला गाउँपालिकाका पशु शाखाका पशु प्राविधिक महेन्द्र अधिकारीले बताए ।
ताप्लेजुङ हिमाली जिल्ला भएकाले यहाँ धेरै लेकाली बस्ती छन् । हिमाली बस्तीमा बासोबास गर्ने समुदाय पशुपालनमै निर्भर हुँदै आएको छ । दैनिक चौँरी चराउँदैमा उनीहरूको दिन बित्ने गर्छ । यहाँका चौँरीको मुख्य बजार चीन हो । चीनमा राम्रो बजार मूल्यमा बिक्री हुने भएकाले हिमाली क्षेत्रका समुदाय चौँरीपालनप्रति आकर्षित हुने गर्दछ । तर कोभिड–१९ का कारणले गर्दा बन्द भएको टिप्ताला नाका चार वर्षमा पनि नखुल्दा चौँरीपालक चिन्तित बनेका छन् ।
चार वर्षयता बन्द रहेको तिप्ताला नाका खुलाउने तयारी भइरहेको छ । दुई देशका स्थानीय पदाधिकारीबीच अनौपचारिक भेटघाट गर्दै नाका खुलाउने विषयमा छलफल हुँदै आएका हो ।
गत मङ्गलबार नेपालको तर्फबाट ताप्लेजुङका फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू, उपाध्यक्ष रविन साम्रा लिम्बूसहितका पदाधिकारी तथा राजनीतिक नेतृत्व र तिब्बतका पदाधिकारीबीच अनौपचारिक भेट गर्दै टिप्ताला नाका खुलाउनेबारे छलफल भएको छ । तिब्बतका तर्फबाट दिङ्जे काउन्टी जिल्लाका डिएसपी दावाछिरिङ लामा, इमिग्रेसन पुलिस अफिसर टासी थुन्डुक, रिउ सहरको टेन्डाङ उपप्रमुख लोप्साङ फिन्जोक र पुलिस अफिसर गुरु छलफलमा सहभागी थिए ।
फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन वालुङको समन्वयमा नाका खुलाउने विषयमा मङ्गलबार अनौपचारिक छलफल भएको हो । छलफलमा नेपालका तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति गजेन्द्र तुम्याहाङ, सचिव युकहाङवीर हाङ्गाम ,नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य खेलप्रसाद बुडाक्षेत्री, वैकल्पिक केन्द्रीय सदस्य मिङ्माडण्डु शेर्पा सहभागी थिए ।
दुई देशका स्थानीय पदाधिकारीबीचको भेटमा टिपताला नाका तत्काल खुलाउन पहल गर्ने, द्विपक्षीय व्यापार तथा पर्यटकीय विकास गर्ने विषयमा छलफल भएको छ । छलफलका क्रममा नाका खुलाउन, व्यापार तथा पर्यटन विकास गर्न र टिप्तालाबाट ओलाङ्चुङगोलासम्म सडक कालोपत्रका लागि सहयोग गर्न चीन सरकार इच्छुक रहेको तिब्बतका तर्फबाट सहभागी स्थानीय पदाधिकारीले उल्लेख गरेको फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए । कोरोना महामारीपछि बन्द भएको टिप्ताला नाका हालसम्म पनि नखुलेका कारण करिब चार वर्षयता दुई देशबीच हुँदै आएको सीमा व्यापार ठप्प छ ।






