काठमाडौँ, २२ कार्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण कायम रहेकाले चुनाव केन्द्रित गतिविधि गर्दा र सहभागी हुँदा ध्यान दिन आग्रह गरेको छ ।
मन्त्रालयले कोभिड-१९ को जोखिम कायम रहेकाले सङ्क्रमणबाट बच्न भिडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले चुनाव केन्द्रित कार्यक्रमहरुमा भिडभाड गर्दा कोभिड-१९ को सङ्क्रमण दर बढ्नसक्ने बताए ।
उनले देशमा कोभिड सङ्क्रमण दर धेरै नभए पनि सङ्क्रमणको अवस्था भने यथावत् रहेको उल्लेख गरे । उनले भिडभाड बढी हुँदा अन्य प्रकारका सङ्क्रामक रोगहरु पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानी अपनाउनु जरुरी रहेको बताए । डा.अधिकारीले कोभिड-१९ विरुद्धको खोप नलगाएका व्यक्तिहरुलाई भिडभाड हुने ठाउँमा नजान पनि आग्रह गरेका थिए ।
उनले भने ‘ठूलो मात्रामा मानिसहरु एक ठाउँ भिडभाड हुनु भनेको सामान्य अवस्थामा पनि जनस्वास्थ्यका हिसाबले जोखिमपूर्ण नै मान्छौँ । त्यसमा एउटा मानिसमा भएको कुनै पनि किसिमको सङ्क्रमण अरु मानिसमा थप जानसक्छ । त्यसले गुणात्मक रुपमा वृद्धि भएर धेरै मानिसलाई प्रभाव पार्नसक्छ भन्ने हिसाबले हामीले धेरै मानिसको भिडभाड हुने कुराहरुलाई जनस्वास्थ्यको हिसाबले निकै ठूलो चासोको रुपमा लिइन्छ र निगरानी गरिन्छ ।’
उनले विश्वव्यापी रुपमा कोभिड-१९ को सङ्क्रमण घटेको बताए । देशमा पनि गएको समयभन्दा सहज अवस्था रहेको उनको भनाइ छ । तर पनि सङ्क्रमण कायम रहेको अवस्थामा जोखिमपूर्ण भेरियन्ट आउनसक्ने सम्भावनका कारण सावधानी अपनाउनुपर्ने उनले स्पष्ट पारेका थिए ।