Logo

स्थानीय तह निर्वाचन: १ लाख ६८ हजार सुरक्षाकर्मी खटिने



 

काठमाडौँ, १० वैशाख । नेपालको सुरक्षा संयन्त्र यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ ।

सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन, रेखी तथा स्थलगत निरीक्षणको काम गरिरहेको छ भने निर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षा प्रदान गर्न खटिइसकेको छ । निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहनेछ । निर्वाचनको सुरक्षा चुनौती आकलन गर्दै चारैवटा सुरक्षा निकायले आ-आफ्नो तयारी तीव्र पारेको जनाएका छन् ।

निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन एकीकृत तथा छुट्टाछुट्टै रणनीतिक सुरक्षा योजना निर्माण गरी संयन्त्र परिचालन भएको गृह मन्त्रालयले जनाएको छ । केही सुरक्षा शक्तिलाई तयारी अवस्थामा राखिएको छ । मर्यादित निर्वाचनको महत्त्वपूर्ण सर्त नै शान्तिपूर्ण वातावरण सिर्जना गर्नु हो । त्यसैले सुरक्षा संयन्त्रले विगतका अनुभव र वर्तमान अवस्थाको आधारलाई समेत विश्लेषण गरेर सुरक्षा रणनीति निर्माण गर्नु जरुरी हुन्छ । बिहीवार मात्रै गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनको सुरक्षा प्रबन्ध प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

यसपालिको निर्वाचनमा नेपाल प्रहरीले ६५ हजारभन्दा बढी जनशक्ति निर्वाचन केन्द्रित सुरक्षामा परिचालन गर्ने गरी आवश्यक रणनीति तयार पारेको छ भने नेपाली सेनाका ७१ हजार जनशक्ति निर्वाचनमा खटिने छन् । यस्तै सशस्त्र प्रहरीबाट ३२ हजार जनशक्ति निर्वाचनमा खटिने छन् ।

आयोगले निर्वाचनको पर्यवेक्षणका लागि ४४ संस्थालाई अनुमति दिने निर्णय गरिसकेको छ । ती संस्थाबाट १० हजार पर्यवेक्षक खटिने छन् । मतपत्र छपाइको क्रम तीव्र पारिएको छ । आयोगका अनुसार एक करोड ९४ लाख मतपत्र आवश्यक पर्छन् ।

यसपालि निर्वाचनमा एक करोड, ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएका छन् । कुल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको छ । सरकारले दुई हजार ९४६ अतिसंवेदनशील, चार हजार ४२३ संवेदनशील र तीन हजार ३८७ मतदानस्थल कम संवेदनशिल भनेर वर्गीकरण गरी त्यहीअनुसार सुरक्षा व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्