काठमाडौँ, २८ कात्तिक । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सत्तारूढ गठबन्धन फराकिलो मतले विजयी हुने दाबी गरेका छन् ।
सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रवक्ता महतले चुनावपछि पनि आफ्नो पार्टीको नेतृत्वमा सत्तारूढ गठबन्धनकै सरकार बन्नेसमेत जिकिर गरे । उनले भने, ‘सत्तारूढ गठबन्धन फराकिलो बहुमतले विजयी हुनेछ । यही गठबन्धन नेतृत्वले सरकार बनाउनेछ ।’
देशलाई स्थिरतासहित समृद्धिको दिशामा अघि बढाउन सत्तारूढ गठबन्धनको विकल्प नभएको उनको भनाइ थियो ।
प्रवक्ता महतले नेकपा एमालेले खुलेआम निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको आरोप लगाउँदै कारबाही गर्न पनि निर्वाचन आयोगसँग माग गरेका छन् । निर्वाचन आचारसंहिताविरुद्ध एमालेले प्रलोभन दिने, सामाजिक सङ्घ-संस्थाहरूको दुरुपयोग गर्ने काम गर्दा पनि आयोगले कारबाही नगरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।







