काठमाडौँ, २९ भदौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टीभित्र गाह्रो भइरहेको बताएका छन् ।
बुधबार काठमाडौँमा आयोजित पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा अध्यक्ष नेपालले ‘दाबी नगरेपनि हुन्थ्यो नि’ भन्नेहरूले पनि निर्वाचनमा टिकट लिनका लागि चर्को दबाब दिइरहेको बताए ।
उनले उठेर दुई कदम पनि हिँडन नसक्ने वृद्धहरूले समेत टिकटको आकांक्षा चर्को रूपमा राखेको बताए । अध्यक्ष नेपालले ती आकांक्षीहरूमा टिकट नपाउने हो भने बेहोस् हुने होकि भन्ने आफूलाई लागेको पनि बताए ।
‘सबैलाई टिकट चाहिएको छ । अब टिकट नपाउने हो भने कता फेन्ट हुने हो थाहा छैन । भनेपछि चाहना हेर्ने हो भने आकाशिएको छ । सबै एकदम काबिल भएर आएका छन् । को काबिल, को काबिल छैन? त्यो छुट्टयाउने आधार हामीले बनाउन सकिरहेका छैनौँ । नगरेपनि हुन्थ्यो नि दावा भन्ने पनि चर्को दाबी गरिरहेका छन । उठेर दुई कदम हिँड्न सक्दैन विचरा बुढो भइसक्यो । तैपनि मर्ने बेलामा एकचोटि त पाऊँ, अरू केही भएन भने नाम भएपनि त्यहाँ टाँसिन पाऊँ । के होला, कस्तो गाह्रो?,’ उनले भने ।







