काठमाडौँ, ८ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेश सभा चुनाव स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढङ्गले सम्पन्न गर्न सरकारलाई आग्रह गरेका छन् ।
बुधवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै एमाले अध्यक्ष ओलीले आउँदो चुनावमा सत्ताको दुरुपयोग हुन सक्ने भन्दै आशङ्का व्यक्त गरेका हुन् ।
भेटका क्रममा अध्यक्ष ओलीले चुनाव स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित ढङ्गले सम्पन्न गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको भेटमा सहभागी एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले ओलीले चुनावमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने भन्दै अन्यथा भएमा एमालेले कडा रूपमा प्रतिवादमा गर्ने चेतावनी दिएको बताए ।
उनले भने, ‘लोकतन्त्रको आत्मा स्वच्छ, निष्पक्ष र धाँधलीरहित चुनाव हो । गठबन्धन सरकारले स्वतन्त्र, निष्पक्ष, भयरहित र धाँधलीरहित चुनाव सम्पन्न गर्छ भन्ने कुरामा विश्वास गर्न सकिने स्थिति छैन । भर्खरै सम्पन्न पालिका चुनावमा पनि सत्ताको ज्यादती सर्वत्र देखिएकै हो । त्यसले गर्दा हामीले आउँदो चुनाव स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित, भयरहित हुनुपर्छ भनेका छौँ ।’







