बुटवल, १४ वैशाख । एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ दलको चुनावी गठबन्धनलाई बालुवा र तासको घरको संज्ञा दिएका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमाले उम्मेदवारहरूको अभिमुखीकरण एवं अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले बालुवा र तासको घरजस्तै चुनावमा गठबन्धन पनि भताभुङ्ग हुने टिप्पणी गरे ।
“एमालेका निम्ति गठबन्धन केही होइन, केपी ओली र एमालेप्रतिको बढ्दो आकर्षणले एमालेले चुनाव जितिसकेको छ”, उनले भने ।
उनले एमाले नेतृत्वमा रहँदा सङ्घ, प्रदेश र स्थानीय सरकारले गरेका राम्रा काम र आगामी योजना बनाएर चुनावमा मत माग्न जान पनि कार्यकर्तालाई निर्देशन दिए । उनले टिकट वितरणलाई लिएर असन्तुष्टि व्यक्त गर्ने छुट एमालेका कुनै कार्यकर्तालाई नभएको बताए ।
“कोही व्यक्ति असन्तुष्टिको नाममा चुनावमा खटिँदैन, पार्टीलाई हराउन लाग्छ भने त्यो उसको निम्ति ठुलो भूल हुनेछ, पार्टीका अगाडि व्यक्ति केही होइन” उनले भने । उपाध्यक्ष पौडेलले चुनावमा टिकट पाउनका लागि मात्रै राजनीति नभएको बताउनुभयो। “टिकट पाउनका लागि मात्रै राजनीति गर्नेहरू एमाले हुनै सक्दैनन्”, उनले भने ।
उनले कुनै पनि खालका भ्रम र आशङ्का नपाली चुनावमा दिनरात खटिन पनि कार्यकर्तालाई निर्देशन दिए ।“‘रुपन्देहीको तिलोत्तमा देशकै नमुना नगरपालिका बनेको छ, त्यो एमाले नेतृत्वको स्थानीय सरकार भएको कारणले भएको हो, राम्रो काम गर्दागर्दै चुनाव हार्ने सम्भावनै रहँदैन” उपाध्यक्ष पौडेलले भने ।
उनले सत्ता गठबन्धन भित्रका धेरै नेता कार्यकर्ता एमालेमा आउन चाहिरहेको भन्दै यसको नतिजा चुनावपछि देखिने पनि बताए । उपाध्यक्ष पौडेल केही दिनदेखि रुपन्देहीका स्थानीय तहहरूमा चुनावी माहौल बनाउन सक्रिय छन्।