काठमाडौँ, २३ कात्तिक । नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले चुनावी घरदैलोले आसन्न निर्वाचनमा आफ्नो जित झनै सुनिश्चित गरेको बताएकी छन् ।
बुधबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलो अभियानका क्रममा नेतृ घर्तीले गठबन्धनको अभिमतले निर्वाचन जित्नेमा ढुक्क रहे पनि चुनावी घरदैलोले झनै उत्साह थपेको बताएकी हुन् ।
सत्ता गठबन्धनबाट काठमाडौँ क्षेत्र नम्बर २ की प्रतिनिधि सभाकी साझा उम्मेदवारसमेत रहेकी घर्तीले घरदैलो अभियानमा निर्वाचन क्षेत्रका मतदाताले गरेको स्वागतले आफ्नो टिममा उत्साह थपेको बताइन् ।
उनले आसन्न निर्वाचनमा आफ्नो जितमा स्पष्ट रहेको र मंसिर ४ को निर्वाचन प्रक्रिया मात्रै कुरेर बसेको बताइन्। नेतृ घर्तीले निर्वाचनमा जित निकालेपछि जनताको कुनै पनि हक, अधिकारको कटौती नहुने गरी कानुन निर्माण गर्ने प्रतिबद्धता जनाइन् ।
उनले विजयपछि जनताको विकास निर्माणको एजेण्डालाई पहुँचमा पुर्याउने, खानेपानी, खेलकुद, करिडोर, फोहोर लगायतका जनताका समस्यालाई हामीले समाधान गर्ने प्रतिबद्धता जनाइन् ।
उम्मेदवार घर्तीले आम नागरिकहरुले दिएको माया र स्वागतले भोलिका दिनमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ मा आफ्नो कर्तव्य बढेको महसुस भएको बताइन् ।







