काठमाडौँ, २४ चैत । सत्ता गठबन्धनमा आबद्ध दलबीच स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भए पनि सिट बाँडफाँटमा विमति देखिएको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले पार्टीको हैसियतअनुसार सिट बाँडफाँट गर्नुपर्ने सर्त अघि सारेसँगै गठबन्धनमा आबद्ध चार दलले विमति जनाएका हुन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा बुधबार बसेको निर्वाचन अनुगमन तथा तयारी समितिको पहिलो बैठकमा पाँच दलले सिट बाँडफाँटको मापदण्डबारे फरक(फरक प्रस्ताव अघि सारेका छन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुले आफूअनुकूल तालमेल प्रस्ताव अघि सारेका छन् ।
सत्ता गठबन्धनको ठूलो दल कांग्रेसले गत निर्वाचनमा प्रमुख जसले जहाँ जितेको छ, उसले लिने र एमालेसहित अन्य दलले जितेको ठाउँमा दोस्रो धेरै मत पाएको दलले प्रमुख, तेस्रो धेरै मत पाउनेले उपप्रमुख लिने प्रस्ताव अघि सारेको छ । उक्त प्रस्ताव माओवादीसहित अन्य दलले स्वीकार नगर्ने चेतावनी दिन शुरू गरेका छन् । आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।