Logo

चुनावी माहोल तातिँदै जाँदा झापा-५ मा रास्वपाको कार्यालय तोडफोड



झापा, २२ माघ । झापा क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालयमा तोडफोड भएको छ। सो क्षेत्रबाट पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार रहेका छन्, जसलाई रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको छ।

कमल गाउँपालिका–२ मा रहेको रास्वपाको सम्पर्क कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको पार्टीले जनाएको छ। घटनाका क्रममा कार्यालयको सिसा फुटेको भए पनि अन्य ठूला भौतिक क्षति भने नभएको बताइएको छ।

तोडफोड कसले र किन गरेको हो भन्ने विषयमा हालसम्म स्पष्ट हुन सकेको छैन। पार्टीले घटनाबारे प्रहरीलाई जानकारी गराइसकेको छ भने सुरक्षाकर्मीले घटनामा संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान सुरु गरेका छन्।

निर्वाचनको मिति नजिकिँदै जाँदा यस किसिमका गतिविधि बढ्नु चिन्ताजनक भएको भन्दै पार्टीले शान्तिपूर्ण चुनावी वातावरण सुनिश्चित गर्न प्रशासनसँग माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्