Logo

‘चुनाव आउँदैछ, मन्त्रीहरूको जिल्लामा ठूला बाटो बनाउने नीति तथा कार्यक्रममा छ’



काठमाडौँ, १३ जेष्ठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले सरकारले ल्याएको नीति तथा कार्यक्रम मन्त्री र सत्तापक्षका सांसदहरूको चुनाव लक्षित कार्यक्रम मात्रै भएको आरोप लगाएका छन् ।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै सांसद लिङ्देनले यस्तो बताएका हुन् ।

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा रासायनिक मल किन्न नपाएका किसानले अर्को वर्ष पाउने सुनिश्चितता नभएको जिकिर गरेका छन् । उनले शैक्षिक सत्र सुरु भइसक्दासमेत विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गर्दै नीति तथा कार्यक्रममा अर्को वर्ष समयमै पाठ्यपुस्तक पाउने नीति नसमेटिनु दुःखद भएको बताए ।

सांसद लिङ्देनले भने, ‘मैले नीति तथा कार्यक्रम कसरी बन्छ भनेर विगत पाँच वर्षयता हेरिरहेको छु । पाचौँ पटक प्रधानमन्त्री हुने मौका पाउनुभएका प्रधानमन्त्रीले वा आफ्नो सरकारले अहिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नीति तथा कार्यक्रममा आफ्नो जिल्लामा मेडिकल कलेज स्थापना गर्ने ल्याउनुभयो । मन्त्रीहरूको जिल्लामा ठूला-ठूला बाटो बनाउने नीति तथा कार्यक्रममा छ । देशको नीति कार्यक्रम यही हो? मैले यसो सम्झन्छु, यो नीति कार्यक्रमभित्र मैले मेरो गाउँका मानिसहरू वर्षा लाग्यो, खेतीबाली लगाउने बेला भयो, पैसा तिरेर एक बोरा युरियाको मल किन्न पाउँदैनन् । तिनीहरूको बारेमा यो नीति कार्यक्रममा कहाँ छ कुरा । अर्को साल मल पाउने कुराको सुनिश्चितता कहाँ छ? नीति तथा कार्यक्रमले त्यस्तो विषयहरू छुनु पर्छ कि पर्दैन? प्राथमिकताहरू कसरी निर्धारण हुन्छन्? हाम्रो देशको प्राथमिकता के हो? चुनाव आउँदैछ, त्यसैले सबैले आफ्नो-आफ्नो योजना टिपाइहालौँ भनेर नीति तथा कार्यक्रममा टिपाएको छ ।’

सांसद लिङ्देनले देशको अहिलेको प्राथमिकतालाई चुनावमुखी कार्यक्रमको संज्ञा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्