दुर्गाप्रसाद गर्तौला
व्यङ्ग्य
गत आइतबारका दिन दुई नम्बर प्रदेशबाहेकका दोस्रोचरणमा चुनाव हुने भनिएका नगर तथा गाउँपालिकालाई संसारकै राम्रो विकाश दिलाउने बाचाका साथ उम्मेद्धारहरुले आफ्नो उम्मेद्धारी दर्ता गराए । विहान उज्यालो नहुँदै देखि रात नपरुन्जेलसम्म पनि नगर र गाउँपालिकामा उक्त दिनको भिडभाड र तँछाडमछाड देख्ता यस्तो लाग्थ्यो कि यो देशमा राजनीतिको खेति गर्ने बाहेक कोहिसँग केहि काम नै छैन । हुन त त्यो भिडभाड र नाराजुलुश अनि नाचगानलाई राजनीति गर्नेहरुको आआफ्नो शक्तिप्रदर्शन ठानेका होलान्, तर यस प्रकारको शक्तिप्रदर्शनका लागि जनताहरु कुनै पनि कालखण्डमा भेला नभएका वा राजनेताहरुको गरिखाने भाग्यका लागि पछाडी नपरेका छैनन् । आफ्ना ‘उप्परवालेहरुका’ निर्देशन बमोजिम नाराजुलुश, झण्डाडण्डा, बन्दहडताल, तोडफोड देखि लिएर मर्न र मार्न समेत नेपाली जनताहरु पछि नपरेको ईतिहास छैन । जनताको मनोभाव राम्ररी बुझेका राजनीति पेशामा लालायित राष्ट्रसेवीहरुको सेवामा शक्तिप्रदर्शन गर्नु वा भक्तिप्रदर्शनमा सहभागि हुनु नै नेपाली समाजको विशेशता पनि हो । हरेक पार्टीका देशभक्तहरुले जनतालाई ढाँटे पनि उनीहरुको सहयोगमा जनताहरुले उनीहरुलाई कहिल्यै ढाँटेका छैनन् । र ढाँट्नु हुँदैन । यो नै जनताहरुको धर्म हो ।
विगतमा मर्न र मारिन पनि पछि नपरेका नेपालीहरुले चुनाव भने पछि हुरुक्क हुनु नै पर्छ । किनभने चुनावमा वा भोट दिँदा विगतका आन्दोलनमा सहभागि भए वापत ज्यानको बाजि राख्नु पर्दैन । यसर्थ, केहि ठाउँका अपावादका घट्ना बाहेक अहिलेका चुनाविसभा वा जुलुसमा सहभागि भए बापत आफ्नो आयु खतम होला भनिहाल्नु परेको देखिएन । सायद यहि कारणले होला दोस्रोचरणमा जुनजुन स्थानमा चुनाव गर्ने वा हुने भनियो ती ती ठाउँका आफ्नो उम्मेद्धारी दर्ता गर्न हरेक पार्टीका उम्मेद्धारहरुले आआफ्नो हैसियत अनुसारको जनशक्तिलाई सहभागि गराए । सहभागिता मात्र हैन, उम्मेद्धारहरुले आफ्नो नाम दर्ता गर्न वा चुनाव गर्ने मिति नेै पो छिटो भयो कि भन्ने अड्कल चुनावमा उठेका उम्मेद्धारहरुको त के कुरा, उनीहरुलाई सहयोग गर्न तम्सिएका समर्थकहरुको उफ्राई, नाचगान र बाजागाजा सहितको झाँकि प्रदर्शनले देखाईरहेको छ । तीन महिना वितिसक्यो, स्थानिय तहको चुनाव गरिहाल्ने भनेको । उहिबेला देखि चुनावमा लागिपरेका उम्मेद्धारहरु र उनीहरुका समर्थकहरु अझै गलेको, थकित भएको देखिएकै छैन । न प्रचारप्रसार सुस्ताएको छ, न रेकर्डिङ गरिएका बाजाहरु बज्न र त्यसको साथ नाच्न ÷उफ्रिन नै कोहि थाकेको छ । यस्तो उत्सवमय वातावरणलाई अब असार १४ गतेको भोटले रोक्नेछ । भोटको परिणाम आफ्नो पक्षमा पार्नेहरुले त उत्सव मनाउने केहि क्षण प्राप्त गर्लान्, तर हारको मार खप्नेहरुको उत्सव रोकिने छ ।
वास्तममा प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रोचरणमा भोट गर्ने भनिएका प्रदेशहरु मध्ये दुईनम्वर प्रदेशका उम्मेद्धार र जनताहरुको मात्र भाव समेटेको देखिन्छ । त्यो प्रदेशमा असोज २ गते चुनाव सारिएको ठीक हो । तर बाँकि क्षेत्रको चुनावि माहौललाई पनि प्रधानमन्त्रीले हेर्न सक्नु पथ्र्यो, त्यहाँ कसैलाई पनि चुनावि प्रचार गर्न समय पुगेको जस्तो देखिँदैन । चुनावमा आफ्ना पार्टी र आफुले जनता सामु राखेका एजेण्डाहरुलाई नै प्रष्ट्याउन अझै समय पुगेको छैन यहाँका उम्मेद्धारहरुलाई । सम्वन्धित ठाउँका उम्मेद्धारहरु नै नथाकि, नपाकि जनताहरुले भोट दिँदा परिणाम गलत उम्मेद्धारको पोल्टामा पर्न सक्छ । हुन त स्थानियतहको पनि वार्डसदस्यले समेत समाज र राष्ट्रका लागि आफ्नो उम्मेद्धारी दर्ता गरिएको भनेका छन् र जस्ले जिते पनि आखिर समाज र राष्ट्रकै हितमा काम गर्ने हुन, तथापि चुनाव जति नै पर सारिए पनि, जुन उम्मेद्धार प्रचारप्रसार गर्न थाक्तैन, आफ्ना अघिपछि आउरेबाउरे लगाएर हिँड्न छाड्दैन, जो समाज र राष्ट्रकै हितका कुरा बाहेक केहि बोल्नै जान्दैन र चुनाव जति नै पर सरे पनि चुनावि काममा नथाकि निरन्तर लागि परिरहन्छ, त्यस्ता उम्मेद्धारले मात्र साँच्चै समाज र राष्ट्रका लागि केहि गर्न सक्थ्यो कि भन्ने सामान्य नागरिकको अनुमान हो ।
पहिलो चरणको चुनाव सकिए पनि दोस्रो चरणको चुनावको मेलो नै मिलिसकेको छैन । उम्मेद्धारहरु त थाकेका छैनन नै, त्यो भन्दा पनि पहिलो चरणमा नै चुनाव भईसकेर भोट गनेर नसकिएको भरतपुर महानगरपालिकाको परिणाम अझै काँचै पल्टिएको छ । त्यहाँको परिणाम नै नआई दोस्रोचरणको चुनावमा भोट हाल्नु हतारो नै हुन्छ । किनभने भरतपुरमा जस्तै दोस्रोचरणमा चुनाव हुने पनि कतिपय ठाउँमा भोट गन्न भरतपुरको झैं ढिला भयो भने न विजयको आश गर्नेहरुले उत्सव मनाउन सक्छन्, न हार्नेहरुले नै । सबैको जाँगर मरेर आउँछ । न पुन जित्ने आशाका साथ चुनाव प्रचार गर्न सकिने भयो, न जितेर क्षणिक नै भए पनि उत्सव मनाउन पाईन्छ । वा हारेर नै भए पनि सन्तुष्ट हुने ठाउँ रहन्छ । चुनाव गर्न र अझ भोट गन्न हतारिएको आलोतातो अहिलेको परिणामलाई अलिकति गहिरिएर मनन् गर्ने हो भने भरतपुर महानगरका प्रमुख पदको मुखैमा पुगेर अड्किएका एमालेकृत देबी ज्ञवाली र काँग्रेस एण्ड एमाओवादीकृत रेणु दाहालको अहिलेको अवस्थालाई सहजै जान्न सकिन्छ । हामी जुन तह र जुन हैसियतका नै किन नहोउँ ंतर ती महान उम्मेद्धारहरु देबी ज्ञवाली र रेणु दाहालको अहिलेको अवस्थाको ठाउँमा हामी आफैं नै उभिएर हेरौं त ? उभिन त के बस्नका लागि पनि ठाउँ मिल्दैन । न भोकले छुन्छ, न निन्द्राले छुन्छ । अरु बेला रामरौस गर्न वा पिडा कम गर्न र विपक्षीलाई सत्तोसराप गर्न बल प्रदान गर्ने अति नै प्रिय साथी ‘बोतल’ ले पनि छुन छाड्छ । लोकल होस वा जुनसुकै ब्राण्डको तर जति नै टोड्क्याए पनि बरु उल्टिसुल्टि आउला, अलिकति पनि ज्यानमा चढ्दैन । महानगरमा जित्ने त परै जाओस आफ्नै हार पनि स्वीकार गर्ने अवस्था समेत भईदिँदैन । यस्तो कठिन अवस्थामा रहेका देबी ज्ञवाली र रेणु दाहालमाथि भएको लामो समयसम्मको अन्यायमात्र हैन, ‘भिरको कुभिण्डो’ भएर बस्नु परेको भनेको चुनाव छिटो भएर अनि छिटो भोट गन्न थालेर आएको संकट हो । अब के भरतपुरकै जस्तो अवस्था दोस्रोचरणमा गर्न लागिएको चुनावको परिणाम बनाउनु ? प्रधानमन्त्री लगायत उनका जे जति सरकारी सहयोगीहरु छन्, उनीहरुले बेलैमा सोच्नै पर्ने अवस्था आईसकेको छ कि भरतपुर महानगरको चुनावी परिणामको अवस्थाबाट शिक्षा लिएर चुनावी प्रचार गर्दागर्दा उम्मेद्धार नै नथाकि दोस्रो चरणको चुनाव पनि सार्नु मनासिव हुन्छ । पहिलेकै सरकारले चुनाव गर्ने भनेर चुनावको घोषणा गरेर पहिलो गल्ति त गरेकै हो । हत्पत्को काम लत्पत् हुनु स्वाभाविक नै हो । हत्पत्मा बैशाख ३१ गते नै देशभरि स्थानिय तहको चुनाव गर्ने घोषणा गरे । त्यो पनि देशभरि सफल हुन सकेन । जहाँजहाँ उम्मेद्धारहरु चुनाव प्रचार गर्दागर्दा थाकेका थिए त्यहाँत्यहाँ चाँहि केहि हदसम्म चुनाव सफल भयो । तर फेरि दोस्रो गल्ति हतारिएर नै गरे कि दोस्रोचरणको चुनाव असार ९ गते गर्ने । त्यो पनि भएन र अब असार १४ गते चाहिँ चुनाव गर्ने नै भए दुई नम्वर प्रदेशलाई छाडेर । देशभरिकै चुनाव सार्नु नै बुद्धिमानी थियो तर दुई नम्वर प्रदेशलाई मात्र किन काखा र अरुलाई पाखा ? यो प्रश्न गम्भिरमात्र छैन रहस्यमय पनि छ । हाम्रो देशमा जे जति पटक सरकार बन्छन् ती कुनै पनि असक्षम थिएनन्, जुन दिन देखि नेपालमा प्रजातन्त्र आएको थियो । केहि प्रदेशको मात्र नै सहि तर स्थानियतहको चुनाव गराउन पुर्वप्रधानमन्त्री कामरेड प्रचण्ड सक्षम नै भए । तर चुनाव गर्न हतारिएका कारण प्रथमचरणको चुनावी परिणामलाई पुरै आफ्नो पक्षमा प्रचण्डले पार्न सकेनन् । तर पनि दोस्रो चरणमा गर्ने भनिएका स्थानका उम्मेद्धारहरुलाई भने केहि समय लम्ब्याईदिएर केहि राहत दिन सक्षम भएकै हुन् । बर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई पुर्वराजा ज्ञानेन्द्रले तत्कालिन समयमा स्थानिय चुनाव गराउन नसकेको भन्दै असक्षम घोषित गरेर प्रधानमन्त्रीबाट पदच्यत गरे पनि अहिले दोस्रोचरणको चुनाव गर्न सक्षम भई पुरानो आफ्नो गुमिसकेको ईज्जतलाई बचाउ गर्न सफल भए भननैपर्छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सक्षमता दोस्रोचरणको चुनाव गराएरमात्र हैन्, दुईनम्वर क्षेत्रका चुनावी उ्रम्मेद्धारहरुको भावनालाई कदर गर्दै चुनाव प्रचार गर्दागर्दा उम्मेद्धार थाकुन र सहि उम्मेद्धार छनौट हुन सकुन भनेर चुनावको मिति पनि सारिदिएर असोज २ गतेतिर पुर्याउने सक्षमतामात्र हैन बहादुरीपुर्ण काम पनि प्रधानमन्त्रीले गर्नु भएको छ ।
जे भए पनि असार १४ गते चुनाव हुने नै भयो, तर अझै पनि प्रधानमन्त्रीले आफ्नो सक्षमतालाई अझ बलियो पार्दै जाने हो भने विचार पुर्याए हुने थियो कि चुनावमा उम्मेद्धारी दिएका उम्मेद्धारहरु विगत तीन महिना पहिले देखि प्रचारमा लागे पनि अझै थाकेका छैनन् । यसर्थ जनताहरु चुनावी प्रचार र उत्सवको भागिदार सबैलाई वर्षैभरि पुगिरहोस भन्ने चाहन्छन् । यसर्थ उम्मेद्धारहरु नथाकुन्जेलसम्म भोट हालेर भरतपुर महानगरको जस्तो सस्तो अवस्था आफ्ना कुनै पनि उम्मेद्धारको नआओस भन्ने चाहना जनतामा छ । उम्मेद्धारहरु चुनावी प्रचार गर्न थाकेकै छैनन् । यस्तो अवस्थामा २ नं प्रदेशको झैं अन्य प्रदेशमा पनि चुनावको मिति नसर्ने भए भोट हाल्न के जानु होला र ! भन्ने दुविधामा रहेका जनताको यथार्थतालाई कुनै चुनाव विरोधि शक्ति छ भने उस्ले पनि स्वीकार्न सक्छ । प्रतिदिन दैनिकबाट ।