काठमाडौँ, २४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावमा हारेकाहरुलाई राजनीतिक दलहरुले राष्ट्रियसभामा उम्मेदवार बनाएकोमा आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा हारेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलालगायतलाई राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार बनाउने कुराले गणतान्त्रिक व्यवस्थामाथि नै ठूलो ढुंगा प्रहार भएको जिकीर गर्दै आक्रोश व्यक्त गरेका हुन् ।
मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उनले चुनावमा हारेकाहरुलाई राष्ट्रियसभाको उम्मेदवार बनाउनाले यो व्यवस्थामाथि गम्भीर प्रहार भएको बताए ।
राष्ट्रका लागिभन्दा पनि राजनीतिक पार्टीका लागि काम गर्ने मान्छेलाई राष्ट्रियसभामा छान्नु पनि यो राजनीतिक प्रणालीमाथिको गम्भीर प्रहार भएकाले यसलाई रोक्नुपर्ने सभापति लामिछानेको भनाई थियो ।
सभापति लामिछानेले राज्यका सबै जिम्मेवार निकायमा मेरिटबेस (योग्यतम)को आधारमा चयन गर्नुपर्ने प्रस्ताव गरे । संवैधानिक परिषदका सदस्यहरुको नियुक्ति पनि मेरिट बेसको आधारमा गर्ने भनेर संविधान र कानूनमै व्यवस्था हुनुपर्ने उनको माग थियो ।
‘आज चुनाव हारेका मान्छेहरु राष्ट्रियसभामा ठाँटले यही कार्यकालको चुनाव हारेका मान्छेहरु उठिरहेका छन् । मैले उदाहरण दिएको यहाँहरुलाई । तपाईंहरुले मुटुमाथि ढुंगा राखेर पार्टीको निर्णय मान्नुपर्ने अवस्था आएको छ नि । त्यसैगरी तपाईंको मुटुमा अर्को ढुंगा बस्छ‚ फेरि अर्को ढुंगा राखेर तपाईंहरु हाँस्नुपर्ने अवस्था आउँछ‚’ उनले पुराना दलका सांसदहरुप्रति व्यंग्य कस्दै भने, ‘मलाई विश्वास छ गोली थापेर ल्याएको व्यवस्थामाथि यत्रो आक्रमण भइरहँदा यहाँहरुले गर्ने प्रतिवाद खोइ त? त्यसकारण कानूनमा उस्तै परे संविधानमा व्यवस्था गरिनुपर्छ । मेरिट बेसमा मान्छे सेलेक्ट भयो भने उपस्थिति मात्रै होइन, एक दिन पनि रिक्त हुँदैन । यो विधि विश्वव्यापी मान्यता हो ।’
सभापति लामिछानेले राष्ट्र र जनताका लागि आवश्यक मान्छे छान्ने काम मेरिट बेसको आधारमा चयन गर्ने मान्यता विश्वव्यापी रुपमा नै रहेको भन्दै सोहीअनुसार अघि नबढे मुलुकको प्रणाली र व्यवस्थामाथि भइरहेको ‘हाइज्याक’ रोक्न नसकिने बताए ।







