रौतहट, २७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे क्षेत्रको संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताएकी छन् ।
आइतबार रौतहटको माधवनारायण नगरपालिका-३ मा सञ्चालनमा आएको गजेन्द्र स्मृति अस्पतालको उद्घाटन गर्दै उनले तराइ मधेशको जीवनसँग प्रत्यक्ष जोडिएको चुरे पर्वत श्रृंखलाको संरक्षणमा सरोकारवाला सबै गम्भीर रुपले लाग्नुपर्ने धारणा राखिन् ।
चुरे क्षेत्रमा हाल राष्ट्रपति चुरे संरक्षण कार्यक्रम मार्फत संरक्षणका विभिन्न कार्यक्रम भइरहेको छ ।
राष्ट्रपति भण्डारीले तराइ मधेशको भूभागमा कृषि कार्यलाई प्रोत्साहन गर्दै अन्नबाली उत्पादन बढाउँदा त्यसले देशको अर्थतन्त्रमा ठूलो टेवा दिने बताइन् । कृषि उद्योगको विकासबाट स्वेदशमै रोजगारी सिर्जना भई स्थानीय समुदायको आयआर्जन गराउन तथा उद्यमशीलता प्रवर्द्धन गर्न समेत मद्दत पुग्ने उनले बताइन् ।