Logo

चुरे संरक्षणले जनताको जीविकोपार्जनका अवसर सिर्जना हुनेछ: राष्ट्रपति



सिन्धुली, २ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे संरक्षणबाट स्थानीय जनताको जीवनस्तर परिवर्तन हुने बताएकी छन् ।

सिन्धुलीको दुधौली नगरपालिका-३ झुँगामा आज वृक्षरोपणपछि आयोजित कार्यक्रममा उनले चुरे संरक्षणले स्थानीय समुदायको जीविकोपार्जनका अवसर सिर्जना गर्ने बताइन् ।

विशाल सामुदायिक वन क्षेत्रमा बर र पीपलका बिरुवा रोपेर राष्ट्रपति भण्डारीले आठौँ चुरे दिवस २०७९ को शुभारम्भ गरेकी थिइन् । सो समारोहमा सम्बोधनका क्रममा उनले जङ्गली वन्यजन्तुको बासस्थान, जडीबुटी तथा वनस्पतिको खानी र तराई-मधेस क्षेत्रमा सिँचाइका लागि आवश्यक पर्ने पानीको मुख्य स्रोत चुरे नै भएको बताइन् ।

तराई-मधेसका जनतालाई प्राकृतिक विपद्बाट बचाउन पनि चुरेको संरक्षण अपरिहार्य भएको उनको भनाइ छ । चुरे क्षेत्रमा रहेका स्थानीय तहमा भर्खरै निर्वाचित जनप्रतिनिधिलाई भावी पुस्ताको बाँच्न पाउने अधिकार समेतलाई ख्याल गरेर व्यवस्थित भौतिक विकास गर्न र वातावरणीय अध्ययन गरेर मात्र ढुङ्गा, गिट्टी, बालुवा जस्ता प्राकृतिक स्रोतको सङ्कलन र उत्खनन गर्न उनले आह्वान गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्