Logo

चोलेन्द्रलाई संसद् सचिवालयले दिएकाे पत्र कार्यान्वयन नगर्न सर्वाेच्चकाे आदेश



काठमाडौँ, २३ मंसिर । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको निलम्बन निष्प्रभावी भएको भनेर संसद् महासचिव भरतराज गौतमले दिएको पत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेको संवैधानिक इजलासले संवैधानिक हैसियत नभएको महासचिवको त्यो पत्र कार्यान्वयन नगर्न/नगराउन शुक्रवार अन्तरिम आदेश जारी गरेको हो ।

गएको बुधवार संसद्का महासचिव गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सर्वोच्च अदालतलगायत निकायमा पठाएका थिए ।

महासचिव गौतमले पत्र दिएपछि त्यसका विरुद्ध गएकाे बुधवार सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहित नौ जनाले रिट दायर गरेका थिए । त्यही रिटमा निवेदकतर्फको बहस सकेर संवैधानिक इजलासले पत्र कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्