Logo

च्याउ टिप्न गएका तीन बालक डढेलोमा परी घाइते



डोल्पा, २९ चैत । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ रङ्गमा डढेलोबाट सल्किएको आगोमा परेर तीन जना बालक घाइते भएका छन् ।

आगोमा परेर १०, १२ र १३ वर्षका तीन जना बालक घाइते भएका डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार आज दिउँसो घर नजिकै रहेको सामुदायिक वनमा च्याउ टिप्न गएका उनीहरू डढेलोमा परेका थिए । घाइते उनीहरूको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको छ । थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लैजाने प्रयास भए पनि मौसमका कारण आजलाई सम्भव नभएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

डोल्पामा गएको सोमवार मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको थियो । घाइते एक जनाको कीर्तिपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्