काठमाडौँ, ५ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले छानबिन समिति बनाए चिनियाँ जहाज लिलामीको ठेक्का फिर्ता लिने बताएका छन् ।
बिहीवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री किरातीले चिनियाँ जहाजबारे छानबिन गर्न संसदीय समिति बनाए जहाज लिलामीको ठेक्का फिर्ता लिने बताएका हुन् । नेपाल वायु सेवा निगमले आजै पाँच वटा चिनियाँ जहाज बेच्न ठेक्का आह्वान गरेको थियो ।
सांसदहरूको जिज्ञासाबारे जवाफ दिँदै मन्त्री किरातीले दोषीलाई कारबाही गर्नेगरी छानबिन समिति बनाए लिलामीको ठेक्का फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन् । उनले वर्षमा २० करोड रुपैयाँभन्दा बढी घाटा बेहोरेर चिनियाँ जहाज राखिरहेको र अब पनि घाटा बेहोरेर जहाज राखिरहन नसक्ने भएकाले लिलामी गर्न खोजेको बताए ।
उनले भने, ‘चिनियाँ जहाज सेतो हात्ती भयो, सेतो हात्ती भयो, संसद् थर्काउने हामी त हो । हामी नै हो संसद्, पत्रपत्रिका, चिया पसलमा बोल्ने? निकाय दिऔँ भनेर टेन्डर निकाल्यो किन भन्छन्? गर्नु के? यो चाहिँ केही न केही बहस होस् भनेर नै टेन्डर निकालेको हो । कि त अब उपाय निकालोस् यो समितिले । छानबिन समिति बनाइदिनुहोस् न त हामी फिर्ता गरिहाल्छौँ नि । तर दोषीलाई कारबाही गर्नेगरी । कर्मकाण्डी होइन ।’
मन्त्री किरातीले देशका लागि काम गर्न खोज्दा नपाएको गुनासो गरेका थिए । उनले केही नयाँ काम गर्न लाग्दा अख्तियारदेखि अदालतसम्म धाउनुपर्ने अवस्था रहेको बताए । उनले कामका लागि अघि बढ्दा बढ्दै जुत्ता फाटिसक्ने भन्दै काम गर्ने वातावरण नभएको टिप्पणी गरेका थिए ।







