Logo

छिमेकी मुलुकसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्छ: परराष्ट्रमन्त्री



काठमाडौँ, २५ असार । परराष्ट्रमन्त्री एनपी साउदले छिमेकी मुलुकहरू चीन र भारतसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्ने बताएका छन् ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबार बसेको बैठकमा उनले दुवै छिमेकी मुलुकसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्ने बताएका हुन् ।

एउटासँगको सम्बन्धको तुलना अर्को सम्बन्धसँग गर्न नहुनेमा मन्त्री साउदको जोड थियो । “दुई छिमेकी मुलुकको उदीयमान अर्थतन्त्रका रूपमा प्रभाव बढ्दो छ । नेपालसँग उनीहरूको परम्परागत सम्बन्ध छ”, उनले भने, “जसलाई थप मजबुत र सुदृढ बनाउनु पर्छ । एउटा सम्बन्धको तुलना अर्को सम्बन्धसँग गर्नु हुँदैन ।”

छिमेकी मुलुकसँगको सम्बन्धमा मनोवैज्ञानिक दबाब महसुस गर्न नहुने भन्दै परराष्ट्रमन्त्री साउदले पारदर्शीरूपमा आफ्ना सरोकार राख्नुपर्ने बताए । “सम्बन्धमा मनोवैज्ञानिक दबाब महसुस गर्नु हुन्न”, उनले भने, “पारदर्शीरूपले आफ्ना ‘कन्सर्न’ राख्नुपर्छ ।”

भारतसँगको सम्बन्ध ऐतिहासिक र विशिष्ट रहेको भन्दै उनले खुला सिमाना, दुईतिहाइ व्यापार, पारवहन सुविधाका दृष्टिले पनि महत्त्वपूर्ण रहेको बताए । यसैगरी उनले एक चीन नीतिमा सरकार प्रतिबद्ध रहेको जिकिर गर्दै मित्रराष्ट्रका विरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिनेमा जोड दिए ।

अमेरिका र युरोपियन युनियनसँग विकास सम्बन्धका दृष्टिकोणले महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । परराष्ट्रमन्त्री साउदले अमेरिका र युरोपियन युनियनबाट अधिकतम विकास सहयोग परिचालन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) आगामी अगस्टदेखि कार्यान्वयनमा जाने उनले समितिलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्