Logo

जंगलमा लुकाइएको करोडौँ रुपैयाँसहित एसबीआई बैंक लुटपाट प्रकरणको पर्दाफास, घरधनीसहित ७ जना पक्राउ



सिन्धुली, २ माघ।  सिन्धुलीको घ्याङलेख गाउँपालिका–२, हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा भएको लुटपाट प्रकरणमा बैंक रहेको घरका धनीकै संलग्नता खुलेको छ। प्रहरीले बैंक रहेको घरका मालिक छविलाल स्याङ्तानलाई नजिकैको जंगलबाट पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो।

सिन्धुली प्रहरीका प्रवक्ता डीएसपी सूर्यप्रकाश सुवेदीका अनुसार घटनामा संलग्न कुल ७ जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१० का ४९ वर्षीय भागवत सिंह, सिन्धुली घ्याङलेख–२ का ४७ वर्षीय चतुरमान बज्यु, भरतपुर महानगरपालिका–२ का २४ वर्षीय शशांक श्रेष्ठ, नुवाकोट पञ्चकन्या–५ का २३ वर्षीय मिलन गिरी, १९ वर्षीय विवेक मगर, ४४ वर्षीय छविलाल स्याङ्तान र एक १६ वर्षीय किशोर रहेका छन्।

प्रहरीले लुटिएको रकममध्ये २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ बरामद गरेको जनाएको छ। साथै घटनामा प्रयोग गरिएको २ थान खुकुरी, प्लास्टिकको नक्कली पेस्तोल, टेप, ४ थान नकाब र एक थान पन्जासमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

असोजदेखि बनाइएको थियो योजना

प्रारम्भिक अनुसन्धानका क्रममा घरधनी स्याङ्तान र चतुरमान बज्युले असोज महिनामै बैंक लुट्ने योजना बनाएको खुलासा भएको छ।

पुस २९ गते साँझ करिब साढे ७ बजेतिर लुटेराहरूले बैंकका सुरक्षा गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिई खुकुरी प्रहार गरी घाइते बनाएको सूचना प्रहरीलाई प्राप्त भएको थियो। सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय बस्तीपुरबाट खटिएको टोली घटनास्थल पुग्दा कर्मचारी र सुरक्षा गार्डको हातखुट्टा बाँधिएको र मुखमा टेप टाँसिएको अवस्थामा फेला परेका थिए।

उनीहरूको उद्धारपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी उपरीक्षकको नेतृत्वमा ५० जनाको टोली परिचालन गरी व्यापक खोजी सुरु गरिएको थियो।

खोजतलासकै क्रममा घटनास्थलबाट करिब २ किलोमिटर पूर्व लिपिखोलामा बीएडी ०३९८ नम्बरको टाटा सुमो र चालक भागवत सिंहलाई प्रहरीले फेला पारेको थियो। सोधपुछका क्रममा उक्त सुमो विवाहका लागि भन्दै काभ्रे बनेपाबाट रिजर्भ गरिएको खुलेको थियो।

त्यसपछि प्रहरीले जंगलका विभिन्न स्थानबाट बोरामा लुकाएर राखिएको १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ बरामद गरेको थियो। पुस ३० गते बिहान थप चार जना शंकास्पदलाई पक्राउ गर्दा उनीहरूको साथबाट ५ लाख ९ हजार ६७५ रुपैयाँ फेला परेको थियो।

उनीहरूको बयानका आधारमा लुकाइराखिएको थप ८३ लाख ३५ हजार रुपैयाँसमेत प्रहरीले बरामद गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्